नेपाल प्रहरीमा रिक्त आठ डीआईजी पदमा तीन ब्याचको चर्काे प्रतिस्पर्धा, यसकारण महत्व छ यो बढुवा

लोकपथ
490
Shares

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछि र नायव महानिरीक्षक (डीआईजी)हरू बढुवा भएपछि नेपाल प्रहरीमा अहिले डीआईजीको रिक्त दरबन्दी आठ पुगेको छ ।

पछिल्लो पटक एक दिने एआईजी किरण राणा र अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएसँगै रिक्त दुई पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरिसकेको छ । उनीहरुको बढुवासँगै प्रहरीमा डीआईजीको रिक्त दरबन्दी आठ पुग्ने छ ।

रिक्त आठ डीआईजीका निम्ति तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अहिले प्रतिस्पर्धामा छन् । समग्रमा अहिले २० जना एसएसपी डीआईजीको निम्ति प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धामा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याचका समेत तीन जना छन् । बढुवाको प्रतिस्पर्धामा आईजीपी कुँवरका ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र धु्रवराज राउत छन् । उनीहरु बढुवा भएपनि हालको प्रहरी नियमावलीअनुसार आगामी ४ चैतमा अनिवार्य अवकाशमा जानेछन् । आईजीपी कुँवरसँगै चन्द, रावल र राउत २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

यस्तै, डीआईजीको प्रतिस्पर्धामा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा प्रहरी निरीक्षक बनेकाहरु पनि डीआईजीमा बढुवाका निम्ति दौडधुपमा छन् ।

रवि लामिछाने गृहमन्त्री हुँदा भने आईजीपी कुँवर र राष्ट्रिय अनुसन्धान विभागबाट आएका ब्याचलाई छाडेर २०५४ को टोलीका अधिकृतलाई बढुवा गरिएको थियो । त्यतिबेला बढुवा हुनेमा २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारी थिए ।

२०५३ र २०५४ को टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भावी आईजीपीको दौडमा हुने भएकाले पनि अहिलेको बढुवालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट स्थानान्तरण भएका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र ओमबहादुर राना डीआईजीका दाबेदार मानिएका छन् । राअविबाट आएका शाह गत जेठको बढुवामै पर्ने चर्चा थियो । तर तत्कालीन गृहमन्त्री लामिछानेले २०५४ को टोलीका तीन जनालाई काखी च्याप्दा शाह त्यसबेला डीआईजी बढुवामा पर्न सकेका थिएनन् ।

यस्तै, उनीहरूभन्दा एक ब्याचपछिका एसएसपीहरू ईश्वर कार्की, दिनेशकुमार आचार्य, राजेन्द्रप्रसाद भट्ट, अरुण पौडेल र गोविन्द थपलियासहित ११ जना पनि डीआईजीको दाबेदार मानिएका छन् ।

डीआईजीको बढुवा सिफारिस गृह मन्त्रालयका सचिवको अध्यक्षतामा रहने बढुवा समितिले गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?