काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेशले पूर्व कानुनमन्त्री लीलाबल्लभ अभिकारी मानव तस्करहरुसँग जापान भ्रमण गएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रले मन्त्री जस्तो व्यक्तिले मुख्यमन्त्रीसहित सरकारलाई कुनै जानकारी नै नगराई अवैध प्रक्रियाबाट जापान गएको विषयमा प्रदेश सरकार मौन रहेको भन्दै आपत्ति जनाएको हो ।
माओवादी केन्द्र कोशी प्रदेश प्रमुख सचेतक गीता तिम्सिनाले विज्ञप्ति जारी गर्दै मन्त्रीको जापान भ्रमण नक्कली भुटानी शरणार्थी प्रकरणकै एक प्रकरणका रुपमा रहेको जिकिर गरेकी छिन् ।
‘मन्त्रीसँगै गएका व्यक्तिहरुसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा एउटै कार्यक्रममा सहभागि हुन मन्त्री र ती व्यक्तिहरुको भिषासहित हवाई टिकटको प्रबन्ध हुनु रहस्यमयी देखिएको छ । जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापान सिधै उडान भएपनि हङकङ ट्रान्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्थ व्यक्तिहरुको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मावन तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संसदका दुई ठुला दलहरु मिलेपछि एकपछि अर्का विवादित विषयहरु बाहिर आइरहेको भन्दै मन्त्रीको जापान प्रकरणले सरकार गलत धन्दा चलाउने गिरोहको संरक्षण गरिरहेको आरोप समेत लगाएको छ ।
त्यहाँको एक कार्यक्रमका लागि केही व्यक्तिहरुको साथमा जापान पुगेका मन्त्रीसहितको टोलीलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको थियो । चौतर्फी आलोचनापछि अधिकारीले राजीनामा दिएका छन् । तर गम्भीर प्रकृतीको काण्डमा मुछिएका मन्त्रीलाई राजीनामाले चोख्याउन खोजिएको माओवादीको जिकिर छ ।
‘…मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरुको गिरोहमार्फत् सरकारी कागजात किर्ते गरेका व्यक्तिहरु जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो । त्यसमाथि प्रदेशको मन्त्रीलाई जापान सरकारले विमानस्थलबाट डिपोर्ट गरेर फिर्ता गरेको जज्जास्पद घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक छ भने यो प्रकरणमा राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया