काठमाडौं । काठमाडौंमा कार्तिक २९ र ३० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रदर्शनीमा सयभन्दा बढी स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ ।
आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको प्रदर्शनी गर्नेछन ।
यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसका साथै सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवर्द्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
यस कार्यक्रममा प्रदर्शनी सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजीकरण गरिएको पनि आयोजकले बताए ।
आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रक्रिया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सक्नेछन् । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् ।
आइसिटी अवार्डका विभिन्न अन्य १० विधामा दोस्रो चरणको छनौट प्रक्रिया जारी छ । छनौट प्रक्रियाको लागि १७ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया