ट्रम्पको पुनरोदय : कस्तो होला आप्रवासन नीति र युद्धको अवस्था ? (भिडियोसहित)

काठमाडौं । अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरोदयले विश्वको ध्यान खिचिरहेको छ । व्यापारिक पृष्ठभूमिका ट्रम्प सन् २०१६ मा पहिलोपटक अमेरिकाको राष्ट्रपति बने । अप्रत्यासित जित निकालेपछि विश्वभर ट्रम्पको चर्चा चुलियो । तर सन् २०२० मा पुनः राष्ट्रपति बन्ने अभिलाषासहित मैदानमा उत्रिए पनि नतिजा उनको पक्षमा आएन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको कुरा गर्ने हो भने लगातार दुई कार्यकाल राष्ट्रपति बन्न नसक्नेमध्येका एक हुन् ट्रम्प । एक कार्यकाल सत्ता बाहिरै रहे पनि उनी विवाद र चर्चामा भने सधैँ रहिरहे ।

रसिया–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन युद्धका बीच महाशक्ति राष्ट्र अमेरिकाको नेतृत्वमा आएका ट्रम्पले विश्व शान्तिका लागि कस्तो भूमिका निर्वाह गर्नेछन् ? र आप्रवासीहरुका लागि कस्तो नीति लिनेछन् भन्ने विषयले सबैमा कौतुहलता थपिएको छ ।

ट्रम्प यस्ता राष्ट्रपति हुन्, जो माथि दर्जनौँ गम्भीर प्रकृतिका मुद्दाहरु विचाराधीन छन् । अमेरिकाको इतिहासमा विवादित राष्ट्रपतिमा ट्रम्पको नाम अघि आउँछ । तर उनको जितसँगै ट्रम्पले सन् २०२० मा राष्ट्रपतिको कार्यकाल सकिएपछि अधुरा रहेका कामबाट आफूलाई अघि बढाउँछन् या नयाँ ढंगले आफू अघि बढ्लान्, सबैको चासोको विषय बनेको छ ।

यसअघि नै ट्रम्पले उद्घोष गरेअनुसार अमेरिकाको दक्षिणी सीमाना मेक्सिकोमा पर्खाल लगाउँदै आप्रवासीमाथि कडा नीति लिनसक्ने सबैको आँकलन छ । आप्रवासीमाथि कडा नीति लिँदै गैरकानुनी रुपमा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने नीति ट्रम्पले लिन सक्छन् । त्यसको व्यवस्थापनका लागि ठूलो रकम खर्च हुने र आप्रवासीरहित अमेरिका बनाउन लाग्दा जीडीपीमा समेत असर पर्ने विज्ञहरुको विश्लेषण छ । साथै वैध मात्र होइन अवैध रुपमा रहेका आप्रवासीहरुले समेत ठुलो हिस्सा कर तिर्ने गरेको र आप्रवासीमाथि कडा हुँदा त्यो गुम्ने उनीहरुको तर्क छ । त्यतिमात्र होइन विश्वका ठुला कम्पनी कम्पनीहरु नै आप्रवासीले खोलेर व्यवसाय गरिरहेका कारण पनि आप्रवासी नीतिमा ट्रम्प कडा हुँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने देखिन्छ । तर हालका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको खुकुलो नीतिका कारण अमेरिकामा गैरकानुनी रुपमा आप्रवासीहरुको आगमन बढेको र त्यसले अमेरिकामा समस्या थपिएको भन्ने तर्क पनि उतिकै बलियो थियो र छ । जसकारण आप्रवासीमाथिको नीतिमा पनि ट्रम्प प्रशंसा र विवादका पात्र बन्ने देखिन्छन् ।

त्यसो त अहिले निर्वाचनको मुख्य विषय नै आप्रवासनको नीति कस्तो होला भन्ने थियो र छ । दुवै पक्षले आप्रवासनलाई मुख्य केन्द्रमा राखेर आफ्ना धारणाहरु सार्वजनिक गर्दै आइरहेका छन् । साथै विभिन्न सर्वेक्षणहरुले समेत आप्रवासनको मुद्दालाई राम्रोसँग बोक्ने र हाँक्न सक्ने नेताले नै अमेरिकाको नेतृत्व गर्न सक्ने आँकलनहरु बाहिरिएका थिए ।

विश्वका विभिन्न देशमा युद्धको प्रभावकैबीच निर्वाचन भए । त्यो भन्दा अमेरिकी निर्वाचनको चर्चा विश्वभर किन भयो त ? त्यसको मुख्य कारण नै युद्धरत पक्षहरुबीच पुलको काम नयाँ नेतृत्वले गर्न सक्छ भन्ने आश नै हो । यहीबीच उदाएका ट्रम्पले विश्वशान्तिका लागि कुन नीति लेलान् भनेर सबैको चासोको विषय बनेको छ ।

सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु हुँदा अमेरिकाले युक्रेनलाई सहयोग गर्दा ट्रम्प सन्तुष्ट थिएनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको खुलेर प्रशंसा गर्ने ट्रम्पले अमेरिकाले युक्रेनलाई गरेको समर्थनको विरुद्धमा लाग्न सक्ने धेरैको आँकलन रहेको छ ।

ट्रम्पको जितसँगै विश्वका नेताहरुले ट्रम्पलाई युद्धको अन्त्य गरी शान्ति स्थापनाका लागि मुख्य सूत्रधारको रुपमा अग्रणी नेताको रुपमा प्रशंसा गरेका छन् । युद्धरत देश साथै त्यसको असर भोग्ने देशहरुले मात्र होइन नेपाल जस्ता साना देशहरुले समेत अमेरिकी राष्ट्रपति निर्वाचनलाई चासोका साथ हेरेका छन् । युद्धको कारण नै विश्व अर्थतन्त्रमा परेको असर निवारण नयाँ नेतृत्वको काँधमा मुख्य जिम्मेवारीको रुपमा रहेको प्रतिक्रियाहरु आइरहेका छन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन केवल सत्ताको मात्रै लडाइँ होइन । अमेरिकी राष्ट्रपति निर्वाचन नीतिको लडाइँ भएका कारण त्यसले अमेरिकाको वर्तमान र भविष्यसहित विश्वमा अमेरिकी प्रभावसमेत जोडिएको छ । नेपाल जस्ता अविकसित देशले पाउने सुविधादेखि जलवायुसम्बन्धी नीतिमा समेत त्यसले प्रत्यक्ष असर गर्दछ ।

त्यतिमात्र होइन अन्तर्राष्ट्रिय कूटनीति र विश्वव्यापी स्थिरताको लागि एक महत्त्वपूर्ण क्षणको रुपमा समेत उक्त निर्वाचनलाई हेरिएको छ । निर्वाचनअघि नै आगामी राष्ट्रपतिको विदेश सम्बन्धको दृष्टिकोणले गठबन्धन, विश्वव्यापी सुरक्षा र विश्वमा अमेरिकाको भूमिकाबारे चर्चा चलेको थियो । अमेरिकाको नयाँ नेतृत्वले आगामी वर्षहरुमा घरेलु र विश्वव्यापी परिदृष्य दुवैलाई नयाँ आयाम दिने विश्वास लिइएको छ । तर त्यसका लागि ट्रम्पले कस्तो नीति लेलान् भन्ने विषयले अहिले विश्वको ध्यान खिचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?