गौतम बुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

लोकपथ
672
Shares

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीन वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलो पटक आज अहिलेसम्मकै धेरै तीन वटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । ‘गौतम बुद्ध विमानस्थल उद्घाटन भएपछि पहिलो पटक यती धेरै सङ्ख्यामा उडान हुन लागेको छ, यसले यो विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरू बढ्नेछन् र यात्रुहरूको आकर्षण पनि बढ्नेछ,’ उनले भने ।

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतम बुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतम बुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

साथै थाई एयर एसियाले शुक्रबार दोस्रो पटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैंकक उडान गर्ने गरी उडान अनुमति लिएको छ । गौतम बुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

यस्तै फ्लाई दुबईको विमान पहिलो पटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । आज दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिए । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौं भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?