पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

लोकपथ
28
Shares

काठमाडौंं ।   नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् । मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ । भारतका डा बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकि डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा प्याटृसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायतसमाजमा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका एक हजार एक जनामध्ये सुनार नेपालबाट एक जना मात्र पुरस्कृत भएका छन्  ।

समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोशले विशेष गरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुर्‍याउँदै आएका छन्  । 

मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ ।  

पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मेहनतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकामा गौरवान्वित भएको बताए । 

उनले भने, ‘नेपाली खेलाडीको रूपमा मैले पाएको सम्मानले विश्वभरिका युवाहरूलाई प्रेरित गर्दछ, जतिसुकै चुनौती आए पनि आफूले चाहेको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’ हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवर्द्धनमा सक्रिय हुँदै आएको छ । उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?