विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगति रोक्नु हो : अध्यक्ष ढकाल

लोकपथ
49
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा आफ्नो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोँच नहटेको भन्दै यस्ता अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमासमेत नकारात्मक असर पार्ने बताए ।

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए ।

चन्द्रागिरी केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको सम्झना गर्दै ढकालले अहिले त्यो क्षेत्र समृद्ध भएको, स्थानीयले रोजगारी पाएको र मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको बताए । ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिए ।

हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए ।

आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताए ।

मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?