काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको छ ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् ।
उनले ६९ बलमा १७ चौकाको मद्दतमा एक सय तीस रन बनाइन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौका प्रहार गर्दै ४३, सावित्री धामीले ११ र साना प्रवीनाले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त रन दिएको थियो ।
बलिङतर्फ कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले एक एक विकेट लिइन् । एसिया छनोटमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया