काठमाडौँ । सेवाग्राहीसँग घुस रकम लिने कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।
बेरितको बन्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ घुस रकम माग गरेको सूचनाको आधारमा पिछा गरेको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका कार्यालय प्रमुख सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार मङ्गलवार अपराह्न ३ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सेवाग्राहीसँग घुसबापत २० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
बेरितको बन्डा मुचुल्का बदर गर्ने प्रयोजनका लागि तहसिलदार सन्तोषकुमार मिश्रले एक सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम माग गरेका थिए । सो को जानकारी सेवाग्राहीले अख्तियारलाई गराएपछि अख्तियारले तहसिलदारको पिछा गरेका थिए । काम गर्ने प्रयोजनका लागि तहसिलदार मिश्रले कम्प्युटर अपरेटर पाण्डेलाई रकम दिन भनेपछि सेवाग्राहीले पाण्डेलाई रकम दिएका थिए ।
सेवाग्राहीले पाण्डेलाई रकम दिए लगत्तै अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
यो समाचार तयार पार्दासम्म अहिले कपिलवस्तु जिल्ला अदालतमा मुचुल्का उठाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया