काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका उद्योगीहरूले बक्यौता तिर्नु भन्दा पनि बक्यौतालाई विवादित र बढी राजनीतिकिकरण गर्ने गरेको बताएका छन् ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरूले सामानहरू विक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताएका हुन् ।
उनले भने, ‘डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरूले सधैँ नै बक्यौता तिर्नु भन्दा पनि बक्यौतालाई झन् झन् विवादित बनाउने र बढी राजनीतिकिकरण गर्ने कामहरू उहाँहरूले गरिरहनु भएको छ । किनभने उहाँहरूले जुनेला लाइन काटिन्छ काट्नु अगाडि जति पनि वस्तुहरू उत्पादन गरिएको हुन्छ । १० देखि १५ दिनसम्म पुग्ने गरी उत्पादित वस्तुहरू उहाँहरूसँग हुन्छ । कुनै पनि कम्पनी फुल क्यापासिटिमा सबै चलेको हुँदैन । करिब ५०, २०, ३० प्रतिशतमा मात्र चलेको हुन्छ । तर जबसम्म उहाँहरूको उत्पादित वस्तु विक्री हुँदैन तबसम्म डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरू लाइन जोड्न अगाडि आउँदैनन् । लाइन काटिएको १०–१५ दिन भएपछि उनीहरू भाष्य सिर्जना गर्छन् । बेरोजगारी बढायो, अर्थतन्त्र डुब्यो तहसनहस नै भयो भन्ने इमोसनल ब्ल्याकमेल गर्न खोज्नुहुन्छ र बाध्य भएर सरकारले केही न केही निर्णय गर्नुपर्ने हुन्छ । यो राम्रो कुरा होइन । सरकारले सबैलाई हेर्नुपर्छ तर तिनुपर्ने सबैले तिनुपर्छ ।’
साथै उनले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरूले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने अडान लिएका छन् । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको भनाइ छ ।
सरकारले १५ दिनभित्र उद्योगीहरूको बक्यौता असुल गर्ने निर्णय गर्दै उनीहरूलाई टीओडी मिटरको बिल दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार १५ दिनभित्र बक्यौता उठाइने घिसिङले बताए ।
बक्यौता नतिरे फेरि लाइन काट्ने संकेत गर्दै उनले भने, ‘यदि १५ दिनभित्र बक्यौता नतिरे प्राधिकरणले फेरि आफ्नो प्रक्रिया सुरु गर्छ । हामीले दिएको बिललाई अदालतले पनि सही ठहर्याइसकेको छ । उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएका छन् । कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया