दीपक मनाङ्गेको अपराध कर्म : ३२ वर्षको अवधिमा १६ पटक पक्राउ

जेलबाट समेत असुलीका लागि आपराधिक गिरोह चलाउँथे मनाङ्गे

काठमाडौं । कुनै समय गुण्डागर्दीको पर्याय थियो दीपक मनाङ्गे । ठमेललाई आधार क्षेत्र बनाएर आफ्नो गुण्डागर्दी र हप्ता असुलीमा बदनाम व्यक्ति दीपक मनाङ्गे अर्थात् राजीव गुरुङ १६ औँ पटक प्रहरीको नियन्त्रणमा पुगेका छन् । १६ औँ पटक प्रहरीले पक्राउ गर्दा भने अदालतबाट ठेकिएको कैद सजाय भुक्तान गर्नका लागि जेल पठाउने प्रयोजनका लागि हो ।

मनाङ्गे कुन कुन मितिमा कुन कुन काण्डमा पक्राउ परे, त्यसको फेहरिस्त जान्नुभन्दा पहिले अहिले किन मनाङ्गेलाई पक्राउ गरिएको हो भन्ने बुझौँ ।

२० वर्ष पुरानो अपराधमा मनाङ्गे दोषी ठहर

सर्वोच्च अदालतले दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई गत कात्तिक २० गते तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरी मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ गते भएको आक्रमणका मुख्य योजनाकार रहेका भनिएका गुरुङ यसअघि जम्मा ३२ महिना मात्रै कारागारमा बसेका थिए । तर सर्वोच्च अदालतले समेत ५ वर्ष कैद सजाय तोकेकाले उनलाई बाँकी कैद सजाय भुक्तानका लागि प्रहरीले पक्राउ गरी अदालतमार्फत कारागार कार्यालय डिल्लीबजार चलान गरिसकेको छ ।

मार्ने उद्देश्यले भएको थियो चक्रेमाथि आक्रमण, तरबारले पूरै काटिएको थियो हात

ठमेल क्षेत्रलाई गुण्डागर्दी र हप्ता असुलीको आधार बनाएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गे सामाखुसी, दरबारमार्ग सम्मको क्षेत्रमा गुण्डागर्दीमा संलग्न थिए । यता चक्रपथ र त्यसभन्दा बाहिरी क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली र ठेक्कापट्टामा सक्रिय मिलन गुरुङ उर्फ चक्रे मिलन पनि काठमाडौंको ‘कोर’ एरियामा छिर्न चाहन्थे । कहिलेकाहीँ चक्रेले आफ्नो आधार क्षेत्र छाडेर मनाङ्गेको क्षेत्रमा प्रवेश गर्ने बित्तिकै दुई समूहबिच बेलाबेलामा झडप र टकराब भइरहन्थ्यो ।

तत्कालीन समयमा दीपक मनाङ्गेलाई काभ्रेली गुन्डा नाइके गणेश लामाको साथ थियो भने कुमार घैँटे भनेर चिनिने कुमार श्रेष्ठ चक्रे मिलनको समूहमा थिए । सामाखुसी एरियामा हुने गुण्डागर्दीको सिन्डिकेटकै विषयमा दुई समूहबिच पटक पटक झडप भएको थियो ।

२०६१ साल वैशाख ३१ गते पानी पोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा चक्रे मिलन खाजा खाइरहेको अवस्थामा करिब एक दर्जन युवाहरूले चक्रे मिलनमाथि आक्रमण गर्छन् र चक्रेको हात नै दुई टुक्रा हुन्छ

यी दुई समूहबिचको तनाव बढिरहेकै समयमा २०६१ साल वैशाख ३१ गते पानी पोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा ठुलो आक्रमण भयो । सुनसरीबाट आएका आफ्ना साथीहरूसँग चक्रे मिलन खाजा खाइरहेको अवस्थामा करिब एक दर्जन युवाहरू हेलमेट नै लगाएर रेस्टुरेन्टभित्र प्रवेश गर्छन् र चक्रे मिलनमाथि आक्रमण गर्छन् । त्यो आक्रमण यति भयानक थियो कि चक्रेको हत्या नै गर्ने उद्देश्यबाट आक्रमण गरिएको थियो । आफ्नो घाँटीमा धारिलो तरबारले आक्रमण गर्दै गर्दा चक्रेले हातले छेक्ने प्रयास गरे । उक्त प्रयासमा चक्रेको हात नै दुई टुक्रा भयो । चक्रेका साथीहरूले छिनालिएको हातसहित चक्रेलाई नजिकैको शिक्षण अस्पतालमा पुराए । चिकित्सकको अथक प्रयासका कारण चक्रे मिलनको हात जोडियो र उनीसमेत बाँच्न सफल भए ।

तस्वीर : सामाजिक सञ्जाल

चक्रे मिलनमाथिको यो आक्रमण अरू कसैले नभएर दीपक मनाङ्गे समूहले नै गरेको पुष्टि भयो । त्यस लगत्तै प्रहरीले गणेश लामा, रेवत कार्की, रमेश सुनुवार, उमेश लामा लगायतका व्यक्तिहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरियो । तत्कालीन समयमा दीपक मनाङ्गे भने फरार भए ।

काठमाडौं जिल्ला अदालतले मनाङ्गेको हकमा ज्यान मार्ने उद्योग नभई सामान्य कुटपिट भन्दै मात्रै दुई वर्ष कैद सजाय सुनाएको थियो

चक्रे मिलनकै श्रीमती इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा प्रहरी परिसर काठमाडौंले २०६१ साउन ११ गते काठमाडौं जिल्ला अदालतमा मनाङ्गेसहित व्यक्तिहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले मनाङ्गेको हकमा ज्यान मार्ने उद्योग नभई सामान्य कुटपिट भन्दै मात्रै दुई वर्ष कैद सजाय सुनाएको थियो भने गणेश लामा लगायतलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसला आउँदा २२ महिना जेल बसिसकेका मनाङ्गे थप दुई महिना जेलमा बसेर २०६३ माघ २८ गते कारागार मुक्त भएका थिए ।

तर सरकारवादी फौजदारी मुद्दा भएकाले काठमाडौं जिल्ला अदालतको फैसला नमिलेको भन्दै वादी नेपाल सरकार पुनरावेदनका लागि तत्कालीन पुनरावेदन अदालत पाटन पुग्यो ।

दर्ता नम्बर १२७७, मुद्दा नम्बर ६६१७० मा मिति २०६४ चैत १ गते दर्ता भएको पुनरावेदनको मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले मुद्दा चलेको ५ वर्षपछि २०६९ साउन २८ गते काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी दीपक मनाङ्गे भन्ने राजीव गुरुङको हकमा ज्यान मार्ने उद्योग ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला सुनायो ।

फरकफरक कसुरमा दीपक मनाङ्गे र चक्रे मिलन एकै जेलमा रहेका बखत खिचिएको संयुक्त तस्वीर । श्रोत : सामाजिक सञ्जाल

पुनरावेदन अदालतको फैसला लगत्तै दीपक मनाङ्गे फेरि पक्राउ परे । त्यसपछि करिब ८ महिना जेल बसेपछि २०७५ सालमा उनी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ बमोजिम थुना बाहिरै रहेर पुनरावेदन गर्ने अधिकार लिई धरौटी राखी थुनामुक्त भए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ मा १० वर्षभन्दा कम सजाय तोकिएका व्यक्तिले मनासिब कारण खुलाई थुना बाहिरै रही मुद्दाको पुनरावेदन गर्न निवेदन दिएमा अदालतले उक्त अनुमति दिन सक्नेछ । मनाङ्गेले सोही कानुन बमोजिम थुनामा बस्नुपर्ने बाँकी कैद सजायका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले अदालतमा धरौटी रकम जम्मा गरी थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गरिरहेका थिए ।

तर सर्वोच्च अदालतले मनाङ्गेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेपछि उनी थप २८ महिना कैदमै बस्नुपर्ने भएपछि उनी पक्राउ परी यति बेला कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गर्न गएका छन् ।

३२ वर्षमा १६ पटक पुलिस कष्टडीमा मनाङ्गे

आपराधिक कार्यको ३२ वर्षको अवधिमा मनाङ्गे १६ पटक प्रहरी नियन्त्रण हुँदै हिरासत र जेलमा पुगेका छन् ……

दीपक मनाङ्गे अर्थात् राजीव गुरुङ २० वर्ष पुरानो मुद्दामा बाँकी कैद भुक्तान गर्न जेल गएको भए पनि उनको अपराध कर्म र प्रहरी हिरासत तथा जेलको बसाई यसमा मात्रै सीमित छैन । आपराधिक कार्यको ३२ वर्षको अवधिमा मनाङ्गे १६ पटक प्रहरी नियन्त्रण हुँदै हिरासत र जेलमा पुगेका छन् । अर्थात् कम्तीमा २ वर्षमा एक पटक मनाङ्गेविरुद्ध मुद्दा दर्ता भएको छ भने उनी जेलमा पुगेका छन् ।

यस्तो छ मनाङ्गेको प्रहरी हिरासत र मुद्दा दर्ताको फेहरिस्त

घटना नम्बर १ : गुण्डागर्दीकै क्रममा खुकुरीसहित पक्राउ

मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०४९ साउन ७ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

प्रहरीको सिआरएस अर्थात् क्रिमिनल रेकर्ड सिस्टममा रहेको तथ्याङ्क केलाउने हो भने मनाङ्गे पक्राउको सिलसिला २०४९ साउनबाट सुरु भएको देखिन्छ । ठमेल क्षेत्रका होटेल, रेस्टुरेन्ट, डान्स बार, क्लब आदिमा गुण्डागर्दी गरी, खुकुरी समेत देखाई हप्ता असुली गरेको सूचनाका आधारमा पुगेको प्रहरीले मनाङ्गेलाई हप्ता असुली गर्दै गरेको अवस्थामा खुकुरीसहित नियन्त्रणमा लिएको थियो । मनाङ्गेलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण समेत भएको प्रहरीको दाबी छ । उक्त घटनामा प्रहरीले मनाङ्गेलाई केही सार्वजनिक अपराधमा २०४९ साउन ७ गते मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा के कति सजाय भयो वा मुद्दा के भयो भन्ने विषय खुलेको छैन ।

घटना नम्बर २ : मादक पदार्थ सेवन गरी होहल्ला गरेको
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०५८ असार १८ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

मनाङ्गेलाई प्रहरीले दोस्रो पटक २०५८ असार मा पक्राउ गरी केही दिन प्रहरी हिरासतमा राखी २०५८ असार १८ गते केही सार्वजनिक अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनिए पनि त्यति बेला पनि उनी गुण्डागर्दी र हप्ता असुलीकै कसुरमा पक्राउ परेका थिए । उक्त मुद्दामा के भयो भन्ने विषय भने खुलेको छैन ।

घटना नम्बर ३ : होहल्ला गरी अशान्ति मच्चाएको
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०६० पुस १० गते
मुद्दा दर्ता गर्ने कार्यालय: प्रहरी परिसर, काठमाडौं ।

मनाङ्गे पक्राउ परेको तेस्रो पटक हो, २०६० पुस १० गते । काठमाडौं महानगरपालिका वडा नम्बर २९ डिल्लीबजार क्षेत्रमा होहल्ला गरी अशान्ति मच्चाएको कसुरमा मनाङ्गेविरुद्ध २०६० पुस १० गते म्याद थप गरी अनुसन्धान र अभियोजन भएको थियो । उनले होहल्ला गरेको भने पनि त्यति बेला पनि गुण्डागर्दी र हप्ता असुलीकै कसुरमा उनी पक्राउ परेका थिए ।

घटना नम्बर ४: सुनिल श्रेष्ठमाथि कुटपिट
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०६० चैत २० गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

दीपक मनाङ्गे पक्राउ परी मुद्दा चलेको चौथो घटना हो, सुनिल श्रेष्ठमाथिको कुटपिट । मनाङ्गे सहितको समूहले गुण्डागर्दी र हप्ता असुलीकै क्रममा सुनिल श्रेष्ठमाथि गम्भीर कुटपिट गरेको थियो । सो घटनामा सुनिल श्रेष्ठले मनाङ्गेविरुद्ध जाहेरी दिएपछि उनी २०६० चैत २० गते पक्राउ परेका थिए । उक्त घटनामा मनाङ्गे जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका थिए ।

घटना नम्बर ५ : चक्रे मिलन भन्ने मिलन गुरुङमाथि साङ्घातिक आक्रमण
मुद्दा : ज्यान मार्ने उद्योग
मुद्दा दर्ता मिति : २०६१ साउन ११ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

दीपक मनाङ्गेमाथि लागेको अहिलेसम्मकै सबैभन्दा ठुलो कसुर हो, चक्रे मिलन भन्ने मिलन गुरुङमाथिको ज्यान मार्ने उद्योग । २०६१ साल वैशाख ३१ गते पानी पोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा दीपक मनाङ्गेको समूहले चक्रे मिलनमाथि ज्यान नै लिने गरी ठुलो आक्रमण गरे । तरबारले हात नै छिनाउँदा समेत चक्रे बाँच्न सफल भए । त्यस घटनाका प्रमुख योजनाकार मानिएका दीपक मनाङ्गेमाथि काठमाडौं जिल्ला अदालतमा २०६१ साउन ११ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । मनाङ्गेलाई फरारकै सूचीमा राखेर मुद्दा दायर गरिएको भए पनि उनी २०६१ कै पुस महिनामा पक्राउ परे । त्यसपछि अदालतको आदेशबाट उनी थुनामा पुगे । काठमाडौं जिल्ला अदालतले मनाङ्गेले ज्यान मार्ने उद्योग नगरेको भन्दै कुटपिट ठहर गरी २ वर्ष जेल सजाय सुनायो । अदालतले २ वर्ष जेल सजाय सुनाउने बेलासम्म मनाङ्गे २२ महिना जेलमा बसिसकेका थिए । त्यसपछि थप २ महिना जेल बसेर मनाङ्गे रिहा भए ।

तर पछि उच्च अदालतले मनाङ्गेको कसुर ज्यान मार्ने उद्योग नै रहेको भन्दै ५ वर्ष जेल सजाय सुनायो । तर १० वर्षभन्दा कम सजाय भएका कारण मनाङ्गे अदालतमा धरौटी बुझाएर थुना बाहिरै रहेर मुद्दाको पुनरावलोकन गरे । तर सर्वोच्च अदालतले पनि उच्च अदालतले ठहर गरेको ५ वर्षकै सजाय सुनाएपछि उनी यति बेला २० वर्ष पुरानो अपराधको सजाय भोग्न डिल्लीबजार कारागार पुगेका छन् ।

घटना नम्बर ६ : आङकाजी शेर्पामाथि गोली प्रहार
मुद्दा : ज्यान मार्ने उद्योग
मुद्दा दर्ता मिति : २०६३ फागुन २० गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी वृत्त महाराजगन्ज, काठमाडौं ।

ठेकेदार रहेका शेर्पामाथि रकम नदिएको भन्दै गोली प्रहारको प्रयास भएको थियो ……..

चक्रे मिलनमाथिको ज्यान मार्ने उद्योगमा २ वर्ष कैद सजाय भोगेर जेलबाट छुटेको केही समयमै दीपक मनाङ्गेले फेरि महाराजगन्ज क्षेत्रमा आङकाजी शेर्पामाथि आक्रमण गरे । शेर्पालाई नियन्त्रणमा लिई मनाङ्गेले ज्यान मार्ने उद्देश्यले पेस्तोलबाट गोली पड्काएका थिए । ठेकेदार रहेका शेर्पामाथि रकम नदिएको भन्दै गोली प्रहारको प्रयास भएको थियो । हाल एक टेलिभिजनको मालिक रहेका उनीमाथि आक्रमण भएपछि उनकै जाहेरीका आधारमा मनाङ्गेमाथि मुद्दा दर्ता भई उनी केही समय जेलसमेत बसेका थिए ।

घटना नम्बर ७ : व्यापारीलाई धाक धम्की दिई रकम असुली
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०६५ फागुन १ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

ज्यान मार्ने उद्योगमा दोस्रो पटक जेल बसेर छुटेपछि पनि मनाङ्गेले होटेल, रेस्टुरेन्ट, क्लब आदि सञ्चालकसँग हप्ता असुली छाडेनन् । माओवादी शान्ति प्रक्रियामा आएर वाइसिएलको दबदबा सुरु भएपछि मनाङ्गेको असुली धन्दा केही कम भयो । यद्यपि रकम असुल्ने नै क्रममा उनी २०६५ फागुन १ गते पुनः पक्राउ परे । धाक धम्की दिई रकम असुली गरेको कसुर भए पनि त्यति बेला पनि उनीमाथि केही सार्वजनिक अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भयो । उनी धरौटीमा रिहा भए ।

घटना नम्बर ८ : जेलबाटै आपराधिक सङ्गठन निर्माण र परिचालन
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०६६ माघ ७ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी परिसर, काठमाडौं ।

ज्यान मार्ने उद्योग तथा केही सार्वजनिक अपराध समेतमा जेल चलान भएकै समयमा जेलबाटै दीपक मनाङ्गेले आपराधिक समूह परिचालन गरी व्यापारी तथा ठेकेदारलाई धम्काउने र रकम असुल्ने कार्य तीव्र पारे । त्यसको सूचना पाएको प्रहरीले त्यसबारे सोधपुछ गर्दा मनाङ्गेले प्रहरीमाथि नै हातपात गरे । त्यस कसुरमा उनीमाथि केही सार्वजनिक अपराधमा मुद्दा चल्यो र त्यहाँ पनि उनी धरौटीमा रिहा भए ।

घटना नम्बर ९ : आफू आबद्ध पार्टीकै नेतामाथि आक्रमण
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०६८ जेठ ४ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी वृत्त, नयाँबानेश्वर ।

राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको गुण्डागर्दीको सिलसिला अझै सकिएको थिएन । यद्यपि उनी अपराधको राजनीतिकरण गरेर उन्मुक्ति चाहन्थे । त्यसै कारण उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध भएर उपाध्यक्ष नै बने । पार्टीमा नेतृत्वको विवाद चलिरहेको समयमा उनले पार्टीकै नेता चन्द्र नारायण चौधरीमाथि पार्टी कार्यालयमै आक्रमण गरे । उक्त मुद्दामा पनि कुटपिटको जाहेरी आएको भए पनि पछि उक्त मुद्दा केही सार्वजनिक अपराधमा परिणत भयो र जिल्ला प्रशासनमा धरौटी बुझाएर उनी रिहा भए ।

घटना नम्बर १० : जग्गा कारोबारको नाममा ठगी
मुद्दा : ठगीको कसुर
मुद्दा दर्ता मिति : २०६९ चैत २९ गते
मुद्दा दर्ता गर्ने कार्यालय : प्रहरी वृत्त, नयाँबानेश्वर ।

ठमेल छाडेर शान्तिनगर क्षेत्रलाई आफ्नो आधार बनाउन थालेका दीपक मनाङ्गे २०६९ चैत २९ गते पुनः पक्राउ परे । यस पटक भने उनको कसुर केही सार्वजनिक अपराध वा कुटपिट नभएर ठगीको थियो । जग्गा खरिद र विक्रीको सम्बन्धमा ठगी गरेको भन्दै मनाङ्गेविरुद्ध उजुरी परेपछि उनी पक्राउ परे । प्रहरी वृत्त, नयाँ बानेश्वरले मनाङ्गेविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गर्‍यो । अदालतले धरौटीमा छाडेको उक्त मुद्दामा पछि लेनदेन मिलाएर मेलमिलाप भयो ।

घटना नम्बर ११ : नेपाली सेनाका मेजरमाथि कुटपिट
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०७० फागुन १४ गते
मुद्दा दर्ता गर्ने कार्यालय : जिल्ला प्रहरी परिसर, काठमाडौं ।

२०७० फागुनमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका मेजरमाथि साङ्घातिक आक्रमण भयो तर, क्लबमा गएर कुटपिट भएको विषय बाहिर आउँदा आफूमाथि पनि आक्रमण हुन सक्ने भएपछि मेजरले प्रहरीमा जाहेरी दिएनन् …….

पटक पटक जेल परेर निस्कने गरेका मनाङ्गे आफ्नो दबदबा देखाउन पनि गुण्डागर्दी गरिरहन्थे र अस्तित्व देखाउन चाहन्थे । यसै क्रममा उनले २०७० फागुनमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका मेजरमाथि नै साङ्घातिक आक्रमण भयो । क्लबमा गएर कुटपिट भएको विषय बाहिर आउँदा आफूमाथि पनि आक्रमण हुन सक्ने भएपछि ती मेजरले प्रहरीमा लिखित जाहेरी दिएनन् । यद्यपि प्रहरी आफैँले प्रतिवेदन तयार पारी मनाङ्गेमाथि केही सार्वजनिक अपराधमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भयो । उक्त कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मनाङ्गेलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरायो ।

घटना नम्बर १२ : पोखराको लेकसाइडमा गुण्डागर्दी
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०७१ जेठ ७ गते
मुद्दा दर्ता गर्ने कार्यालय : वडा प्रहरी कार्यालय, वैदाम, कास्की ।

काठमाडौंबाट बिस्तारै बाहिरिएर पोखरा पुगेका मनाङ्गेले पोखरामा पनि समूह निर्माण गरी गुण्डागर्दी र रकम असुली सुरु गरेको आरोप आइरहेकै थियो । यसै समयमा लेकसाइडमा व्यापारीलाई धम्की दिई रकम माग गरेको कसुरमा मनाङ्गेलाई पक्राउ गरियो । तर व्यापारीले डरका कारण जाहेरी दिन नमानेपछि वैदाम प्रहरीले ‘सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति फैलाएको’ कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्‍यो । उक्त कसुरमा पनि जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङ्गेसँग धरौटी लिई रिहा गर्‍यो ।

घटना नम्बर १३ : व्यापारीको अपहरण र रकम असुली
मुद्दा : अपहरण तथा शरीर बन्धक
मुद्दा दर्ता मिति : २०७३ असार १५ गते
मुद्दा दर्ता गर्ने कार्यालय : वडा प्रहरी कार्यालय, वैदाम, कास्की ।

मनाङ्गे जहाँ गए पनि आफ्नो बलियो उपस्थिति देखाउन चाहन्थे । यही क्रममा पोखराको लेकसाइडमा बसेर त्यहाँका व्यापारी तथा त्यस आसपासका ठेकेदारलाई धम्काउने, अपहरण गर्ने र रकम असुल गर्ने कार्यमा संलग्न रहेको आरोप लागिरह्यो । यसै क्रममा २०७३ असार १५ गते व्यापारीलाई अपहरण गरी रकम माग गरिरहेको भन्ने सूचना आयो । तत्काल खटिएको प्रहरीले मनाङ्गेको नियन्त्रणमा रहेका व्यापारीलाई सकुशल उद्धार गरी मनाङ्गेले लिइसकेको अवस्थामा रहेको ५० हजार रुपैयाँ समेत जफत गर्‍यो । व्यापारीले आफूलाई अपहरण गरी करम माग गरेको जाहेरी दिएपछि मनाङ्गेविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा कास्की जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चल्यो । उक्त मुद्दामा उनी केही समय जेल बसेर निस्किए ।

घटना नम्बर १४ : निर्वाचन भाँड्ने भयले प्रहरी नियन्त्रणमा
मुद्दा : केही सार्वजनिक अपराध
मुद्दा दर्ता मिति : २०७४ वैशाख २५ गते
मुद्दा दर्ता गर्ने कार्यालय : वडा प्रहरी कार्यालय, वैदाम, कास्की ।

२०७४ साल वैशाख महिनामा हुँदै गरेको स्थानीय तहको निर्वाचनमा केही राजनीतिक दलका नेताको संरक्षणमा गुण्डागर्दी र विपक्षी दलका नेता तथा कार्यकर्तामाथि आक्रमणको धम्की दिएपछि कास्की प्रहरीले मनाङ्गेलाई पुनः पक्राउ गर्‍यो । निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै प्रहरीलाई मनाङ्गेलाई केही समय प्रहरी हिरासतमै राखी उनी विरुद्ध २०७४ वैशाख २५ गते केही सार्वजनिक कसुरमा मुद्दा चल्यो । निर्वाचनको परिणाम आए लगत्तै उनी जिल्ला प्रशासन कार्यालय, कास्कीको आदेशबाट रिहा भए ।

घटना नम्बर १५ : कास्की फुटबलका अध्यक्ष गुरुङमाथि कुटपिट
मुद्दा : अभद्र व्यवहार
मुद्दा दर्ता मिति : २०७६ माघ ८ गते
मुद्दा दर्ता गर्ने कार्यालय : जिल्ला प्रहरी कार्यालय, कास्की ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि पनि उनको गुण्डागर्दी भने रोकिएन । प्रदेश पोखरामा प्रदेश फुटबल लीग चलिरहँदा खेलाडीहरूलाई समान सुविधा नदिएको र भ्रष्टाचार गरेको भन्दै प्रदेश सांसद राजीव गुरुङ उक्त दीपक मनाङ्गेले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कास्की जिल्ला अध्यक्ष मिलन गुरुङमाथि लेखनाथ रङ्गशालामै मुक्का प्रहार गरे । मिलनको उजुरीका आधारमा मनाङ्गेको २०७६ माघ ९ गते पक्राउ परे । केही दिन प्रहरी हिरासतमा बसेपछि उनी धरौटी बुझाएर रिहा भए ।

घटना नम्बर १६ : बाँकी कैद भुक्तानका लागि पक्राउ
मुद्दा : ज्यान मार्ने उद्योग
मुद्दा दर्ता मिति : २०६४ चैत १ गते
मुद्दा दर्ता गर्ने कार्यालय : पुनरावेदन अदालत सरकारी वकिलको कार्यालय ।

काठमाडौं जिल्ला अदालतले कुटपिटमा परिणत गरिदिएको ज्यान मार्ने उद्योगको मुद्दा नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालय मनाङ्गेविरुद्ध ज्यान मार्ने उद्योगमा हदैसम्मको कारबाही हुनुपर्ने भन्दै तत्कालीन पुनरावेदन अदालत गएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले ज्यान मार्ने उद्योग ठहर गर्दै अधिकतम ५ वर्षको सजाय सुनाएकामा मनाङ्गे उक्त फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उक्त कसुरमा २८ महिना मात्रै कैदमा बसेका मनाङ्गेको पुनरावेदन मुद्दामा सर्वोच्च अदालतले पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेपछि बाँकी कैद भुक्तानका लागि उनी पक्राउ परी अहिले कारागार कार्यालय, डिल्लीबजार पुगेका छन् ।

यसरी राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको अपराध यात्राको ३२ वर्षे अवधिमा उनी १६ पटक प्रहरी हिरासतमा पुगेर मुद्दा चलिसकेको छ । यस पटक उनी २८ महिनाका लागि जेल चलान भएका छन् । राष्ट्रपतिबाट बाँकी कैद माफी मिनाहा नभएमा उनी अब कम्तीमा २८ महिना जेलमै बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?