टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

लोकपथ
70
Shares

काठमाडौं । गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । 

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिए ।

‘टुकुचा खोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना संकलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ ’, उनले भने, ‘यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमुनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौँ ।’

गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचा खोला सङ्गमबाट नमुना संकलनपछि परीक्षण गर्दा पोलियो फेला परेको थियो । 

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचा खोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमुना संकलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए ।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमुना संकलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौंका उपत्यकाका बागमती, धोबी खोला, मनहरा, विष्णुमतीबाट नमुना संकलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए । काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमुना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ । 

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?