काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरूले आत्मसाथ गरेको समाजवादले जनतामा चरम असन्तुष्टि, आक्रोश र अन्योलको स्थिति सिर्जना गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरू समाजवादको नारा लगाएको भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन् ।
उनले भने, ‘हामीले समाजवाद त भन्यौँ तर जनताले हामीले भनेको समाजवादको कहीँ कतै पनि अनुभूति गर्न पाएन । हाम्रो समाजवाद जनताको लागि आक्रोश, असन्तुष्टि र अन्योलको अवस्था बनेको छ । त्यस कारण हामीले अब हाम्रो भावी दिसा निर्धारण गरौँ । हामीले नेपाली समाजको अबको दिसा के हुने ?’
नेपाली जनताको भाग्य र भविष्य कोर्नेगरि बहस र विमर्श आजको आवश्यकता भएको उनको भनाइ छ । उनले समाजवाद थुपारेर नभई हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा निर्माण गर्नुपर्ने बताए ।
‘नेपाली जनताको भाग्य र भविष्यलाई कसरी कोर्ने बारेमा गहन बहस र विमर्श गर्न आवश्यक छ । पुस्तकका बारेमा के भन्छु भने समाजवाद थोपारेर आउने कुरा होइन । समाजवाद किताबबाट आउने कुरा होइन । समाजवाद अरू कुनै देशको नक्कल गरेर आउने कुरा पनि होइन । र समाजवाद कुनै पार्टीले आफ्नो दस्ताबेजमा लेखेर आउने कुरा पनि होइन । समाजवाद थोपारिने होइन जगबाटै उमारेर ल्याउन आवश्यक छ । समाजवाद निर्माण गर्ने कुरा हो । हाम्रो उत्पादन पद्धतिद्वारा, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा समाजवाद निर्माण गर्नुपर्दछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया