काठमाडौं । अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
उनीहरुले अनुमति नलिई दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधि अनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले बताए ।
पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापा मगरले जानकारी दिए । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया