गृहमन्त्री लेखकले एसएसबी महानिर्देशकसँग भने : ‘सीमा नाकामा मर्यादित व्यवहार हुनुपर्यो’

लोकपथ
154
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरणमा गरिरहेको कार्यका विषयमा कुराकानी भएको थियो।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए ।

गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो ।

भेटमा नेपाल–भारत सीमानाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रहसमेत गरेका थिए । ‘नेपाल–भारतबीच सदियौं पुरानो सम्बन्ध रहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबिचको सम्वन्ध थप बलियो हुनेमा विश्वस्त छु ।’

भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्चस्तरीय अधिकारीको टोली सहभागी थियो । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौं आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?