काठमाडौं । रसुवाको केरुङ नाका हुँदै तस्करी भएको तीन किलो सुन बाटोमै लुटिएपछि भरियाको अपहरण भएको खुलेको छ । प्रहरीले भरियाको अपहरणमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपहरणमा संलग्न चार जनालाई शुक्रवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रसुवाको साबिक धुन्चे गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका ६ का ४३ वर्षीय नुर्बु तामाङ, रसुवाकै साबिक थुमन गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका १ को ३५ वर्षीय बुद्धि तामाङ, रसुवाकै ३५ वर्षीय को नुर्वु सिङ्गी तामाङ र कालिका गाउँपालिका १ रसुवाका ४५ वर्षीय गोपाल तामाङ रहेका छन् । अपहरणमा संलग्न अन्य ८ जना फरार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार यो अपहरण सुन तस्करीसँग जोडिएको छ । एसएसपी भट्टराईका अनुसार तस्कर समूहले भरियामार्फत पठाएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहका सदस्यले भरियालाई अपहरण गरी यातना दिएको र लुटिएको सुनको रकम तिराउन खोजेको बुझिएको छ ।
तस्कर समूहले भरियालाई पटक पटक अपहरण गरी यातना दिने र लुटिएको सुनको रकम तिराउन खोजेपछि भरियाले कात्तिक २५ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)मा अपहरणमा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा शुक्रवार चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । अन्य फरार आरोपितको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ ।
यसरी भएको थियो, सुन तस्करी र लुटपाट
घटना हो, गत साउन २४ गतेदेखि २५ गतेको अवधिमा । रसुवाकै रामकृष्ण वाइबा ट्रक चालक हुन् । उनी रसुवा तथा चीनको केरुङ लगायतका क्षेत्रबाट सामानहरू काठमाडौं ल्याउन ट्रक चालकको भूमिका निर्वाह गर्छन् ।
केरुङमा कपडाको व्यापार गर्ने सुनिल तामाङले कपडासँगै तीन किलो सुन काठमाडौं पुराइदिन रामकृष्ण वाइबालाई भन्छन् । ट्रक अर्थात् कन्टेनरको बत्तीमा फिट गरेर तीन किलो सुन काठमाडौं पुराउन सके एक लाख रकम दिने आश्वासन समेत दिइन्छ । त्यसभन्दा पहिले साँढे दुई तोलाको सुनको औँठी ल्याएर काठमाडौंमा बुझाउँदा चार हजार कमिसन पाएका वाइबा तीन किलो सुन नेपाल पुराउन सहमत हुन्छन् ।
सहमत भएपछि केरुङमा तस्कर समूहले नै उनको गाडीको बत्तीमा तीन किलो सुन फिट गरेर साउन २४ गते केरुङबाट काठमाडौंतर्फ पठाइदिन्छन् । २४ गते दिउँसो केरुङबाट हिँडेका वाइबा भन्सार पास गरेर रातको ११ बजे कालिकास्थान आइपुग्छन् । थकाई लागेको कारण उक्त रात त्यहीँ सुत्छन् र साउन २५ गते बिहानै त्यहाँबाट काठमाडौं हिँड्छन् ।
गाडीमा तीन किलो सुन छ भन्ने थाहा पाएका वाइबालाई कता कता डर लाग्यो । त्यसपछि उनले आफूलाई डर लागेको र गाडीमा तीन किलो सुन रहेको कुरा आफ्ना मामाका छोरालाई सुनाए । मामाको छोराले उक्त कुरा प्रहरीलाई खबर गर्नुपर्छ भन्दै प्रहरीलाई जानकारी गराए र त्यो कुरा भाइ रामकृष्ण वाइबालाई समेत भनिदिए ।
साउन २५ गते बिहानै गाडी रसुवाको कालिकास्थानबाट काठमाडौंतर्फ हिँड्यो । यता रामकृष्णका दाइले उक्त सुन समात्न प्रहरीलाई खबर गरेका थिए । सुन समात्नका लागि शसस्त्र प्रहरीको एउटा टोली बालाजु औद्योगिक क्षेत्रमा बस्यो । यता रामकृष्ण र उनका मामाका छोरा नेमा छिरिङ तामाङबिच गाडी कहाँ आइपुग्यो भन्ने विषयमा निरन्तर अपडेट भइरह्यो । निमा काठमाडौंमा शसस्त्रको प्रहरी टोलीसँग थिए भने रामकृष्ण गाडी लिएर काठमाडौंतर्फ आइरहेका थिए ।
तर जब गाडी धादिङको खानीखोला पार भयो, तब दुईवटा २२० सिसीको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले मोटरसाइकल तेर्साएर गाडी रोक्यो । गाडी भगाउन खोजे पनि उनले गाडी भगाउन सकेनन् ।
चारमध्ये दुई जना व्यक्तिले गाडीभित्र छिरेर सुन कहाँ छ भन्न भन्दै कन्चटमा पेस्तोल राख्यो । गाडी चालक वाइबाका अनुसार उनीहरूले आफूलाई प्रहरी रहेको बताएका थिए भने पेस्तोल र वाकीटकी समेत बोकेका थिए ।
सुरुमा सुन रहेको स्थान नभने पनि पछि कन्चटमा पेस्तोल राखेर उडाइदिन्छु भनेपछि वाइबाले सुन रहेको स्थान भनिदिए । त्यसपछि ती दुई युवाले गाडीको बत्तीभित्र लुकाएको सुन बत्ती नै फुटाएर लगे भने चालकको मोबाइलसमेत लिएर गए ।
सुन लुटिएको करिब १० मिनेटपछि चालकले अरू कसैको मोबाइलबाट दाइ निमालाई फोन गरेर सुन लुटिएको जानकारी गराए । सुन लुटिएको जानकारी गराए लगत्तै शसस्त्र प्रहरीले सुन तस्करीको सूचना दिने निमालाई नियन्त्रणमा लियो । काठमाडौं आइपुगेपछि गाडी चालक वाइबा र तस्करीको सुन लिन आउने अरू दुई जनालाई समेत नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभाग, पुल्चोकमा लगियो ।
सुन लुटिएको करिब १० मिनेटपछि चालकले अरू कसैको मोबाइलबाट दाइ निमालाई फोन गरेर सुन लुटिएको जानकारी गराए । सुन लुटिएको जानकारी गराए लगत्तै शसस्त्र प्रहरीले सुन तस्करीको सूचना दिने निमालाई नियन्त्रणमा लियो । काठमाडौं आइपुगेपछि गाडी चालक वाइबा र तस्करीको सुन लिन आउने अरू दुई जनालाई समेत नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभाग, पुल्चोकमा लगियो ।
त्यसपछि तस्करीको सुनको विषयमा अनुसन्धान भन्दै राजश्व अनुसन्धान विभागले उनीहरूलाई ३१ दिनसम्म हिरासतमा राख्यो । तर विभागले न तस्करी भएको सुन फेला पार्न सक्यो, न त अन्य थप विवरण नै केलाउन सक्यो । केही नलागेपछि नियन्त्रणमा लिइएको ३१ दिनपछि भदौ २६ गते हाजिरीमा उनीहरूलाई रिहा गरियो ।
राजश्व अनुसन्धान विभागले रिहा गरे लगत्तै उनीहरूलाई तस्कर समूहले पहिलो पटक असोज ४ गते अपहरण ग-यो । काठमाडौंको माछा पोखरीबाट अपहरण गरिएका उनीहरूलाई त्यहाँबाट शिवपुरीमा रहेको एक रिसोर्टमा लगियो । प्रहरीलाई सूचना दिने निमा तामाङ र कन्टेनर चालक वाइबा दुबैलाई नियन्त्रणमा लिई तस्कर समूहले रातभर उनीहरूलाई कुटपिट ग-यो । सुन कसलाई लुटाइस् भन्दै उनीहरूलाई रातभर कुटपिट गरेपछि वाइबा त बेहोस नै भए । त्यही समूहमा तस्कर समूहले सुनबारे जानकारी रहेका ६ जनालाई जनही ५७ लाखका दरले तिर्नुपर्ने भन्दै रामकृष्ण र निमाको भागमा पर्ने ५७ लाख तिर्न दबाब दिए । तर आफूहरूसँग रकम नभएको भनेपछि उनीहरूबाट जनही २० लाखको चेक समेत जबरजस्ती काटियो । उनीहरूको यातनाबाट रामकृष्ण वाइबा बेहोस भएपछि असोज ५ गते बिहान उनीहरूलाई रिहा गरियो ।
तर उनीहरूसँग पैसा तिर्न रकम थिएन । त्यसपछि फेरि असोजको २२ गते अर्को पटक अपहरण गरियो भने अन्तिम पटक कात्तिक ९ गते अपहरण भयो । पटक पटक अपहरण गर्ने र यातना दिने तथा रकम तिर्न भनेपछि उनीहरूले गत कात्तिक २५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिए । जाहेरीपछि अपहरणमा संलग्न चार जनालाई पक्राउ गरी यति बेला अपहरण तथा शरीर बन्धकको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीकै भूमिका शङ्कास्पद
गत साउन २५ गते बिहान भएको तस्करीको सुन लुटपाटमा प्रहरीकै एक बहालवाला असईको भूमिका समेत शङ्कास्पद रहेको पाइएको छ । नेपाल प्रहरीमा कार्यरत ती असईलाई रामकृष्ण वाइबाका मामाका छोरा नेमा छिरिङ तामाङले सुरुमा सुन तस्करीको सम्बन्धमा सूचना दिएका थिए । उक्त सुन पक्राउ गराउनुपर्छ भन्दै लागि नेमाले सूचना दिएपछि प्रहरीका ती असईले आफू मातहत प्रहरीलाई खबर नगरी उक्त विषय सशस्त्र प्रहरीलाई खबर गरेको पाइएको छ । राजश्व अनुसन्धानको विषय हेर्ने सशस्त्र प्रहरीको युनिटलाई उक्त सुनबारे जानकारी गराएपछि नेपाल प्रहरीका ती असई तथा सशस्त्र प्रहरीका डिएसपीसहितको प्रहरी भएर सुन समात्ने योजना बनाएको बुझिएको छ । तर तस्करीको सुन समात्ने प्रयोजनमा सशस्त्र प्रहरी खटिएपछि पनि नेपाल प्रहरीका ती असईले गाडी कहाँ आइपुग्यो लगायतका सूचना लगातार लिइरहेको पाइएको छ ।
सुन तस्करीको सूचना जुन प्रहरीलाई दिइएको थियो, त्यही प्रहरीमार्फत नै सुनको लुटपाट भएको हाल पीडित बनेका नेमा छिरिङ तामाङको आरोप छ । उनै प्रहरीले प्रहरीमार्फत वा अर्को लुटेरा समूह परिचालन गरेर तस्करीको सुन लुटपाट गराएको पीडित नेमाको दाबी छ ।
सुन लुटपाट भएपछि राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि सुन लुटपाटको कसको कस्तो संलग्नता थियो भन्ने विषयमा खासै अनुसन्धान भएको पाइएको छैन । ३१ दिन हिरासतमा राखेर पनि सुन कहाँ पुग्यो, कसले लुट्यो भन्ने सम्बन्धमा अनुसन्धान नै गरिएन । सूचना दिने व्यक्ति, भरिया र सुन लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरूको मोबाइल जफत गरिएको भए पनि सुनको विषयमा अस्वाभाविक चासो देखाएर गाडी कहाँ आइपुग्यो लगायतका विषयमा बारम्बार जानकारी लिई अस्वाभाविक हर्कत देखाउने प्रहरीका ती असईमाथि छानबिन नै भएन ।
राजश्व अनुसन्धान विभागको टोलीले सुराकी दिने व्यक्ति र गाडी चालकलाई तत्कालै नियन्त्रणमा लिई उनीहरूको मोबाइल नियन्त्रणमा लिएको थियो । मोबाइल नियन्त्रणमा लिई नेमाको मोबाइलबाट ह्वाट्सएपमा नेपाल प्रहरीका असई, सशस्त्र प्रहरीका डिएसपी तथा अन्य प्रहरीसँग भएको कुराकानीको प्रमाण प्रहरीले नै मेटाइदिएको नेमाले लोकपथलाई बताए ।
यसरी तस्करी गरी ल्याएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहले सुराकी र भरियालाई अपहरण गरी यातना दिएपछि अपराध महाशाखाको टोलीले अपहरणमा संलग्न चार जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकको कसुरमा थप अनुसन्धान गरिरहेको छ । सुन तस्करीसँग सम्बन्धित विषय भने राजश्व अनुसन्धान विभागले हेरिरहेको भन्दै त्यस विषयमा अहिले केही नगरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया