पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि मात्रै

लोकपथ
210
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको भोलि सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ । बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले अन्त्येष्टि भोलि मात्र गर्न लागिएको हो । ढुंगानाका भान्जा सुरज भट्टराईले भोलि सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताए ।

दिवंगत ढुंगानाका दुई छोरामध्ये छोरा डा.निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । ढुंगानाको शव त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ ।

नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?