काठमाडौं । भाइरल झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको परिवारलाई ५२ लाख रुपैयाँ दिने सहमति भएसँगै पाँच दिनपछि आज शव उठाइने भएको छ ।
कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा झाँक्री भुजेलले चलाएको गाडीको ठक्करबाट कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको मृत्यु भएको थियो । नारायणको दुर्घटना भएकै दिन र उनकी श्रीमती सानुमायाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुई दिनपछि मृत्यु भएको थियो । दुबैको शव पाँच दिनदेखि ग्राण्डी अस्पतालमै रहेको छ ।
शव व्यवस्थापन तथा काजक्रियाका निम्ति आर्थिक विषयमा विवाद हुँदा शव उठाउन ढिलाइ भएको थियो ।
प्रहरी स्रोतका अनुसार, मृतकका आफन्तले एक करोड रुपैयाँ माग गरेकोमा आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको हो । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो ।
काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा भएको दुर्घटनामा भुजेलको बा१९ च २६९५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । झाँक्री भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । प्रहरी वृत्त बौद्धले उनीविरुद्धको मुद्दा चलाएको छ ।
उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । ऐनको दफा १६१ को उपदफा ३ बमोजिम उनीविरुद्ध मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । सो दफाअनुसार उनले बढीमा एक वर्षको कैद सजाय पाउँछन् । तर, कानुनले २ वर्षसम्मको कैदमा धरौटीमा छुट्ने सुविधा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया