काठमाडौं । युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार बिहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो । बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औँ मिनेटमा यार्डेन सुवाले गोल गरेका थिए ।
दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सुवाले बेल्जियमका डिफेन्डर माटे स्मेट्सको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए । यो जितसँगै इजरायलले समूह ए२ मा चार अंक जोड्दै बेल्जियमसँग बराबरी गरेको छ ।
जीत निकाले पनि इजरायल नेसन्स लिगको शीर्ष श्रेणीबाट भने घटुवा भएको छ । सेप्टेम्बरमा भएको खेलमा बेल्जियमले इजरायललाई ३–१ ले पराजित गरेकाले हेड–टु–हेडका कारण बेल्जियम तेस्रो स्थानमा रहँदै घटुवा हुनबाट भने जोगिएको छ ।
इजरायल विरुद्धको खेलमा बेल्जियमका रोमेलु लुकाकु, अमाडु ओनाना, युरी टिलेमान्स चोटका कारण मैदान बाहिर रहे भने केभिन डी ब्रुएनलाई विश्राम दिइएको थियो । खेलको पहिलो हाफमै लिएन्ड्रो ट्रसार्ड पनि घाइते भएपछि टोली थप कमजोर देखिएको थियो ।
इजरायलले आफ्ना खेल हंगेरीको बुडापेस्टस्थित बोझसिक एरिनामा खेल्दै आएको छ । आफ्नो देशमा जारी सुरक्षा समस्याका कारण नेशन्स लिगका सबै खेल इजरायलले विदेशमै खेल्नुपरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया