इटहरी । इटहरीदेखि दक्षिण लागेपछि खनार आउने बेलामा देखिन्छ, ठूलो सेतो होर्डिङ बोर्ड । होर्डिङ बोर्डमा लेखिएको छ– ‘शान्ति चोक’ । तर, त्यही शान्ति चोक आइतबार साँझतिर एकाएक अशान्त बन्यो । शान्ति चोक अशान्ति बन्नुको कारण हो, दुर्घटना ।
झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार एक किशोरीलाई ठक्कर दिएपछि सो ठाउँ एकाएक अशान्त बन्न पुग्यो । इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १३ वर्षीया सजना यादवको बसको ठक्करबाट मृत्यु भएको हो । आइतबार दिउँसो करिब ४ः३० बजेतिर तीव्र गतिमा रहेको बसले ठक्कर दिएर दुर्घटना भएको थियो। घटनास्थलमा घाइते भएकी किशोरीलाई बसले ‘ब्याक’ गरी किचेर मारेको प्रत्यक्षदर्शी एक महिलाले बताइन् । ‘मलाई केही भएको छैन । नमार भन्दै थिइन्, बसले ब्याक गरी किचेर मार्यो,’ प्रत्यक्षदर्शी ती महिलाले भनिन् ।
ब्याक गरी किचेर मारेपछि बस विराटनगरतर्फ लागेको थियो । भाग्दै जाँदा स्थानीयवासीले ढुंगामुढा गरेर आगजनी गरेका थिए ।
उक्त बस खनार चोकमा रहेको नहर नजिकै स्थानीयबासीले जलाएका छन् । बस जलेर पूर्ण रूपमा क्षति भएको छ । आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो । सुनसरीका प्रहरी प्रमुख (एसपी) सुमनकुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीसहित सशस्त्र प्रहरी बाक्लो मात्रामा खटिएका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो । प्रहरीले साँझ ७ः३० बजेतिर मात्रै स्थिति नियन्त्रणमा लिएको थियो ।
दसैँ, तिहार, छठ पर्वगायतका चाडपर्वमा छुट्टी भएको विद्यालय बिहीबारदेखि मात्रै अध्यापन सुरू भएको थियो । आइतबार विद्यालयबाट घर आउने क्रममा बसको लापरबाहीका कारण उनले ज्यानै गुमाउनुपरेपछि परिवारजन भावविह्वल बनेका छन् । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक बालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ । उनका बुबा श्यामलाल यादव र आमा अनिताकुमारी ज्याला, मजदुरी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया