सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्‍यो भव्य र्‍याली

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौँको सहभागिताबीच भव्य र्‍याली गरेको छ ।

रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍यालीमा हजारौँको सहभागिता रहेको थियो । र्‍यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो । 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरू, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरू लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।

र्‍यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । 

उनले र्‍यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।

र्‍यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?