काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार दिउँसो राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिएका थिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
दिवंगत ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहानैदेखि काठमाडौंको सानोगौचरनमा राखिएको थियो । जहाँ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, विभिन्न पार्टीका नेता कार्यकर्ता एवम देशका प्रतिष्ठित व्यक्तिहरुले उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सरकारले उनको सम्मानमा आज राष्ट्रिय विदाको घोषाणा गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सानो गौचरन पुगेर पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए ।
यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताए । ढुंगानाको पार्थिव शरीरमा पुष्पअर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले उनले शान्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविस्मरणीय रहने बताए । उनले ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झिरहने बताए ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा नेपाली कांग्रेसले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख ढुंगाना नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा योगदान पुर्याउने महत्वपूर्ण व्यक्तित्व भएको बताए । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएपछि सभामुख बनेका ढुंगानाले नेपालको संसदीय अभ्यासमा नयाँ मानक खडा गर्न सफल व्यक्तित्वका रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया