मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

लोकपथ
133
Shares

चितवन । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।

शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ । 

दैनिक १५० जनाले काम गरिरहेको उनले जानकारी दिए । एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो संख्या बढाइएको हो । वैद्यले भने, ‘आउँदो सातासम्म २०० जना पुग्छन् ।’

सडकका छ वटा पुलको काम भइरहेको छ । हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँच वटा पुलका पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदैछ । निर्माण कम्पनीले नक्साङ्कन लगायतका कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ । वैद्यले भने, ‘निरन्तर काम गर्न पाएको भए यति बेला ४० प्रतिशत सकिन्थ्यो ।’

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यो खण्डमा विस्तारको काम भइरहेको छ । वैद्यका अनुसार विस्तार चार ढंगले गरिँदैछ । निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरूमा दुई लेन अर्थात् नौ मिटर फराकिला सडक बनाइँदैछ । उकालो ठाउँहरूमा तीन लेन अर्थात् १२ मिटरको हुनेछ । 

झन्डै एक दशमलव पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्र कुरिन्टार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटार लगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदैछ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदैछ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?