एनआरएनए उच्चस्तरीय समितिको बैठक बस्ने दिन कार्यालय बन्द, कार्यालय परिसरमा प्रहरी

लोकपथ
77
Shares

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्ने दिन मंगलबार बद्री केसी समूहले कार्यालय बन्द गरेको छ । 

केसी पक्षले पूर्व अध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएको बुझिएको छ । 

मंगलबार उच्चस्तरीय समितिको बैठक हुने दिन कार्यालय बन्द गरेर केसी पक्ष रणनीतिक बैठकमा जुटेको बताइएको छ । डा.केसीलाई सम्पर्क गर्दा मोबाइलको स्वीज अफ गरेका थिए भने सिइयो राजेन्द्रकुमार राउतले फोन उठाएनन् । 

घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको पाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए । ‘कार्यालय बन्द छ, हामीलाई सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउने जिम्मेवारी दिइएको हो । तर, बैठकको मिति तय भइसकेको अवस्थामा कार्यालय बन्द हुनु निन्दनीय हो’, उनले भने । उनका अनुसार आफूहरू कार्यालयमा आइसकेको भए पनि सम्पर्क गर्दा केसीसहित कसैसँग पनि सम्पर्क हुन सकेको छैन । 

केसी पनि समितिको सदस्य छन् । ३ बजे बैठक बस्ने तय भएको थियो तर घलेलगायतका समितिका सदस्यहरू कार्यालय खुला नभएकाले बाहिरकै हलमा केही समय बसेर नजिकैको एक रेस्टुरेन्टतर्फ लागेका थिए ।

केसी पक्ष भने कार्यालय बन्द गरेर बुढानीलकण्ठको एक रिपोर्टमा बैठक गरिरहेको स्रोतले जनाएको छ । घलेलाई असहयोग गर्ने नीतिअनुसार नै एकाएक बनावटी कार्यक्रम बनाएर बुढानीलकण्ठमा रिपोर्टमा कार्यक्रम गरेको समितिका सदस्यहरूले आरोप लगाएका छन् । 

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।  परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको सदस्यहरूको भनाइ छ। हाल एनआरएनएमा केसी पक्ष, विनोद कुँवर पक्ष र आरके शर्मा पक्ष गरी तीन समूह सक्रिय छन् । 

समितिकी सदस्य रविना थापाले ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । यस्तै समितिका सदस्य कुल आचार्यले यो दुखद भएको जनाउँदै यस्ता गतिविधि गर्न बन्द गर्न सबैलाई चेतावनी दिए । यस्तै समितिकी सदस्य जानकी गुरुङले सबैको आस्था जोडिएको कार्यालय बन्द गरेर केसी पक्ष भाग्नु दुखद भएको जनाउँदै निजी कम्पनी जसरी संस्था चलाइएकोप्रति समग्र गैर आवासीय नेपालीहरू दुखित भएको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?