संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया: विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनुपर्ने काम नभएको बताए ।

उनले भने, ‘मैले तपाईहरुको अगाडि माफी माग्नुपर्छ, म र म जस्तै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण अहिले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा काम भइरहेको छैन । स्थानीयका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन वा प्रदेशका लागि आवश्यक कानुन बन्दा पनि हस्तान्तरण भएका छैनन् । प्रदेश प्रहरीको व्यवस्था गरेका छौ तर जो प्रधानमन्त्री भए पनि त्यस्तो अधिकार दिदैँन् आफैसँग राख्न चाहन्छ ।’

यस्तै, उनले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तीव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताए ।

उनले भने, ‘संघीयताप्रति अलिकति ध्यान नगएको हो की जस्तो लागिरहेको छ । धेरै ऐनहरू बनेको छैन । संघीयतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण ऐन नबन्दा पूर्णता प्राप्त गरेको छैन । नेपालमा अरु सबै परिवर्तन तीव्र रुपमा हुन्छ तर यसको कार्यान्वयन हुन सकेको छैन ।’

यसको साथै, सामाजिक विभेदहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता महसुस भएर जनयुद्धको सुरुवात भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?