नेपाल प्रहरीका असई सविन तिवारीलाई कारबाहीको सिफारिस

सुन लुटपाटमै संलग्नताबारे छानबिन जारी

काठमाडौं । रसुवाको केरुङ नाका हुँदै तस्करी भएको तीन किलो सुन बाटोमै लुटिएको घटनामा नेपाल प्रहरीमा कार्यरत असई सविन तिवारीलाई कारबाहीको सिफारिस भएको छ । प्रहरीको विशेष ब्युरोले छानबिन गरी कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई लेखी पठाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दान बहादुर कार्कीले असई तिवारीमाथि कारबाहीका लागि सिफारिस भई आएको लोकपथलाई बताए । उनले भने, ‘तस्करीको सुन लुटपाट प्रकरणमा नेपाल प्रहरीका असई तिवारी पनि मुछिएपछि विशेष ब्युरोले नै आन्तरिक छानबिन गरेको थियो । सोही छानबिनका आधारमा तिवारीलाई कारबाहीका लागि ब्युरोले नै सिफारिस गरेको छ । अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

गत साउन २५ गते धादिङको खानीखोलाबाट तस्करी गरी ल्याएको तीन किलो सुन लुटपाट भएको थियो । उक्त लुटपाट प्रकरणमा नेपाली प्रहरीको विशेष ब्युरोमा कार्यरत असई सविन तिवारीको भूमिका शङ्कास्पद र प्रहरी आचरण विपरीत पाइएपछि उनीमाथि विशेष ब्युरोले छानबिन गरेको थियो । छानबिनपछि तिवारीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयमा लेखी पठाइएको हो ।

नेपाल प्रहरीका असई सविन तिवारी

गत शुक्रवार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले अपहरणको कसुरमा चार व्यक्तिलाई पक्राउ गरेको थियो । अपहरणको कसुरमा पक्राउ परेकाहरूको बयानका आधारमा उक्त घटना लेनदेन वा सामान्य अपहरण नभएर सुन तस्करीसँग जोडिएको पाइएको हो ।

अपराध महाशाखाले पक्राउ गरेका अपहरणमा संलग्न तस्कर समूहका चार सदस्य

महाशाखाले गत कात्तिक ३० गते रसुवाको साबिक धुन्चे गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका ६ का ४३ वर्षीय नुर्बु तामाङ, रसुवाकै साबिक थुमन गाविस तथा हालको गोसाईंकुण्ड गाउँपालिका १ का ३५ वर्षीय बुद्धि बहादुर तामाङ, रसुवाकै ३५ वर्षीय नुर्पु सिङगी तामाङ र कालिका गाउँपालिका १ रसुवाका ४५ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका नुर्पु सिङगी तामाङ नेपाली कांग्रेस रसुवाका जिल्ला कोषाध्यक्षसमेत हुन् ।

यो पनि …

तस्करीको सुन लुटपाट भएपछि भरियाको अपहरण, ४ जना पक्राउ


कसरी अपहरणमा मुछिए नुर्पुसहितका चार व्यक्ति ?
चीनको केरुङबाट तस्करी गरी ल्याएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहका सदस्यले भरियालाई अपहरण गरी यातना दिएको र लुटिएको सुनको रकम तिराउन खोजेका थिए । पटक पटक अपहरण गरी यातना दिने र सुनको रकम तिराउन खोजेपछि भरिया रहेका कन्टेनर चालक रामकृष्ण वाइबाको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

सुन लुटपाटपछि सुरुमा राजश्व अनुसन्धान विभागको नियन्त्रणमा रहेका कन्टेनर चालक र प्रहरीलाई सुन तस्करीको सूचना दिने नेमा छिरिङ तामाङलाई राजश्व अनुसन्धान विभागले एक महिनासम्म हिरासतमा राखेको थियो । राजश्व अनुसन्धानको हिरासतबाट छुटेपछि तस्कर समूहले यी दुई व्यक्तिलाई अपहरण गरी यातना दिएको थियो । तस्कर समूहले भरियालाई पटक पटक अपहरण गरी यातना दिने र लुटिएको सुनको रकम तिराउन खोजेपछि भरियाले गत कात्तिक २५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)मा अपहरणमा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अपराध महाशाखाको टोलीले गत शुक्रवार चार जनालाई पक्राउ गरेको थियो । अन्य फरार आरोपितको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ ।


यसरी भएको थियो, सुन तस्करी र लुटपाट
घटना हो, गत साउन २४ गतेदेखि २५ गतेको अवधिमा । रसुवाकै रामकृष्ण वाइबा कन्टेनर चालक हुन् । उनी रसुवा तथा चीनको केरुङ लगायतका क्षेत्रबाट सामानहरू काठमाडौं ल्याउन कन्टेनर चालकको भूमिका निर्वाह गर्छन् ।
केरुङमा कपडाको व्यापार गर्ने सुनिल तामाङले कपडासँगै तीन किलो सुन काठमाडौं पुराइदिन रामकृष्ण वाइबालाई भन्छन् । कन्टेनरको बत्तीमा फिट गरेर तीन किलो सुन काठमाडौं पुराउन सके एक लाख रकम दिने आश्वासन समेत दिइन्छ । त्यसभन्दा पहिले साँढे दुई तोलाको सुनको औँठी ल्याएर काठमाडौंमा बुझाउँदा चार हजार कमिसन पाएका वाइबा तीन किलो सुन नेपाल पुराउन सहमत हुन्छन् ।


सहमत भएपछि केरुङमा तस्कर समूहले नै उनको गाडीको बत्तीमा तीन किलो सुन फिट गरेर साउन २४ गते केरुङबाट काठमाडौँतर्फ पठाइदिन्छन् । २४ गते दिउँसो केरुङबाट हिँडेका वाइबा भन्सार पास गरेर रातको ११ बजे कालिकास्थान आइपुग्छन् । थकाई लागेको कारण उक्त रात त्यहीँ सुत्छन् र साउन २५ गते बिहानै त्यहाँबाट काठमाडौं हिँड्छन् ।
गाडीमा तीन किलो सुन छ भन्ने थाहा पाएका वाइबालाई कता कता डर लाग्यो । त्यसपछि उनले आफूलाई डर लागेको र गाडीमा तीन किलो सुन रहेको कुरा आफ्ना मामाका छोरालाई सुनाए । मामाको छोराले उक्त कुरा प्रहरीलाई खबर गर्नुपर्छ भन्दै प्रहरीलाई जानकारी गराए र त्यो कुरा भाइ रामकृष्ण वाइबालाई समेत भनिदिए ।


साउन २५ गते बिहानै गाडी रसुवाको कालिका स्थानबाट काठमाडौँतर्फ हिँड्यो । यता रामकृष्णका दाइले उक्त सुन समात्न नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असई सविन तिवारीलाई खबर गरेका थिए । तर नेपाल प्रहरीका असई तिवारीले उक्त सूचना आफू मातहतको नेपाल प्रहरीलाई नदिई सशस्त्र प्रहरीलाई दिए । राजश्व अनुसन्धान विभागमा रहेको सशस्त्रका डिएसपी अर्जुनजंग थापालाई तस्करीको सुन काठमाडौं आउँदै गरेको जानकारी दिई उक्त सुन समाउन उनी समेत लागिपरेको छनक दिए ।

तस्करीको सुन समात्नका लागि भनी सशस्त्र प्रहरीको एउटा टोली बालाजु औद्योगिक क्षेत्रमा बस्यो । यता रामकृष्ण र उनका मामाका छोरा नेमा छिरिङ तामाङबिच गाडी कहाँ आइपुग्यो भन्ने विषयमा निरन्तर अपडेट भइरह्यो । सोही समयमा नेपाल प्रहरीका असई सविन तिवारीले समेत गाडीको नम्बरसमेत लिई गाडी कहाँ आइपुग्यो भन्ने अपडेट लिइरहे । नेमा काठमाडौंमा प्रहरी टोलीसँग थिए भने रामकृष्ण गाडी लिएर काठमाडौँतर्फ आइरहेका थिए ।

जब गाडी धादिङको खानीखोला पार भयो, तब दुई वटा २२० सिसीको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले मोटरसाइकल तेर्साएर गाडी रोक्यो । गाडी भगाउन खोजे पनि उनले गाडी भगाउन सकेनन् ।

चारमध्ये दुई जना व्यक्ति गाडीभित्र छिरेर सुन कहाँ छ भन् भन्दै कन्चटमा पेस्तोल राख्यो । गाडी चालक वाइबाका अनुसार उनीहरूले आफूलाई प्रहरी रहेको बताएका थिए भने पेस्तोल र वाकीटकी समेत बोकेका थिए ।

सुरुमा सुन रहेको स्थान नभने पनि पछि कन्चटमा पेस्तोल राखेर उडाइदिन्छु भनेपछि वाइबाले सुन रहेको स्थान भनिदिए । त्यसपछि ती दुई युवाले गाडीको बत्तीभित्र लुकाएको सुन बत्ती नै फुटाएर लगे भने चालकको मोबाइलसमेत लिएर गए ।
सुन लुटिएको करिब १० मिनेटपछि चालकले अरू कसैको मोबाइलबाट दाइ नेमालाई फोन गरेर सुन लुटिएको जानकारी गराए । सुन लुटिएको जानकारी गराए लगत्तै प्रहरीले सुन तस्करीको सूचना दिने नेमालाई पनि नियन्त्रणमा लियो । काठमाडौं आइपुगेपछि गाडी चालक वाइबा र तस्करीको सुन लिन आउने अरू दुई जनालाई समेत नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभाग, पुल्चोकमा लगियो ।

त्यसपछि तस्करीको सुनको विषयमा अनुसन्धान भन्दै राजश्व अनुसन्धान विभागले उनीहरूलाई ३१ दिनसम्म हिरासतमा राख्यो । तर विभागले न तस्करी भएको सुन फेला पार्न सक्यो, न त अन्य थप विवरण नै केलाउन सक्यो । केही नलागेपछि नियन्त्रणमा लिइएको ३१ दिनपछि भदौ २६ गते हाजिरीमा उनीहरूलाई रिहा गरियो ।

राजश्व अनुसन्धान विभागले रिहा गरे लगत्तै उनीहरूलाई तस्कर समूहले पहिलो पटक असोज ४ गते अपहरण ग¥यो । काठमाडौंको माछापोखरीबाट अपहरण गरिएका उनीहरूलाई त्यहाँबाट शिवपुरीमा रहेको शैलेजा रिसोर्टमा लगियो । प्रहरीलाई सूचना दिने नेमा तामाङ र कन्टेनर चालक वाइबा दुबैलाई नियन्त्रणमा लिई तस्कर समूहले रातभर कुटपिट ग¥यो । ‘सुन कसलाई लुटाइस्’ भन्दै उनीहरूलाई रातभर कुटपिट गरेपछि वाइबा त बेहोस नै भए । तस्कर समूहले सुनबारे जानकारी रहेका ६ जनालाई जनही ५७ लाखका दरले तिर्नुपर्ने भन्दै रामकृष्ण र नेमाको भागमा पर्ने ५७ लाख तिर्न दबाब दिए । तर आफूहरूसँग रकम नभएको भनेपछि उनीहरूबाट जनही २० लाखको चेक समेत जबरजस्ती काटियो । उनीहरूको यातनाबाट रामकृष्ण वाइबा बेहोस भएपछि असोज ५ गते बिहान उनीहरूलाई रिहा गरियो ।

पीडित रामकृष्ण वाइबा र नेमा तामाङ

तर उनीहरूसँग पैसा तिर्न रकम थिएन । त्यसपछि फेरि असोजको २२ गते अर्को पटक अपहरण गरियो भने अन्तिम पटक कात्तिक ९ गते अपहरण भयो । पटक पटक अपहरण गर्ने र यातना दिने तथा रकम तिर्न भनेपछि उनीहरूले गत कात्तिक २५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिए । जाहेरीपछि अपहरणमा संलग्न चार जनालाई पक्राउ गरी यति बेला अपहरण तथा शरीर बन्धकको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

असई तिवारीको भूमिका शङ्कास्पद, लुटपाटमा संलग्नताको आशङ्का
गत साउन २५ गते बिहान भएको तस्करीको सुन लुटपाटमा नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असई सविन तिवारीकै भूमिका समेत शङ्कास्पद पाइएको छ । तस्करीको सुन आउँदै गरेको सूचना सुरुमा नेमा छिरिङले तिनै असई तिवारीलाई दिएका दिएका थिए । उक्त सुन पक्राउ गराउनका लागि नेमाले सूचना दिएपछि असई तिवारीले आफू मातहतको प्रहरीलाई खबर नगरी उक्त विषय सशस्त्र प्रहरीलाई खबर गरेको पाइएको छ । राजश्व अनुसन्धानको विषय हेर्ने सशस्त्र प्रहरीको युनिटलाई उक्त सुनबारे जानकारी गराएपछि असई तिवारी तथा सशस्त्र प्रहरीका डिएसपीसहितको प्रहरी भएर सुन समात्ने योजना बनाएको बुझिएको छ । तस्करीको सुन समात्ने प्रयोजनमा सशस्त्र प्रहरी खटिएपछि पनि नेपाल प्रहरीका असई तिवारीले ‘गाडी कहाँ आइपुग्यो’ लगायतका सूचना लगातार लिइरहेका थिए । सशस्त्र प्रहरीका डिएसपीसमेत सँगै रहेको र सुन रहेको गाडीबारेको जानकारी नेपाल प्रहरीका असई र सशस्त्र प्रहरीका असईलाई मात्रै रहेको कारण उनीहरूकै संलग्नतामा सुन लुटपाट भएको हाल पीडित बनेका नेमा छिरिङ तामाङ र रामकृष्ण वाइबाको आरोप छ । उनै प्रहरीहरूले प्रहरीमार्फत वा अर्को लुटेरा समूह परिचालन गरेर तस्करीको सुन लुटपाट गराएको उनीहरूको आरोप छ ।

सुन लुटपाट भएपछि राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि सुन लुटपाटको कसको कस्तो संलग्नता थियो भन्ने विषयमा खासै अनुसन्धान भएको पाइएको छैन । ३१ दिन हिरासतमा राखेर पनि सुन कहाँ पुग्यो, कसले लुट्यो भन्ने सम्बन्धमा अनुसन्धान नै गरिएन । सूचना दिने व्यक्ति, भरिया र सुन लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरूको मोबाइल जफत गरिएको भए पनि सुनको विषयमा अस्वाभाविक चासो देखाएर ‘गाडी कहाँ आइपुग्यो’ लगायतका विषयमा बारम्बार जानकारी लिई अस्वाभाविक हर्कत देखाउने नेपाल प्रहरीका असई तिवारीमाथि भने छानबिन नै भएन ।

राजश्व अनुसन्धान विभागको टोलीले सुराकी दिने व्यक्ति र गाडी चालकलाई तत्कालै नियन्त्रणमा लिई उनीहरूको मोबाइल नियन्त्रणमा लिएको थियो । मोबाइल नियन्त्रणमा लिई नेमाको मोबाइलबाट नेपाल प्रहरीका असई तिवारी, सशस्त्र प्रहरीका डिएसपी थापा तथा अन्य प्रहरीसँग ह्वाट्सएपमा भएको कुराकानीको हिस्ट्री नै डिलिट गरिदिएको नेमाले लोकपथलाई बताए ।
यसरी तस्करी गरी ल्याएको तीन किलो सुन धादिङको खानीखोलामा लुटिएपछि तस्कर समूहले सुराकी र भरियालाई अपहरण गरी यातना दिएपछि अपराध महाशाखाको टोलीले अपहरणमा संलग्न चार जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकको कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

सुन तस्करीसँग सम्बन्धित विषय भने राजश्व अनुसन्धान विभागले हेरिरहेको भन्दै त्यस विषयमा अहिले केही नगरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?