…अनि मणि थापाले चुनवाङ बैठक बहिस्कार गरेर माओवादी छाडे

‘४० बुँदे मागपत्रमा तत्कालीन सरकार सकारात्मक भइदिएको भए युद्धको मिति केही धकेलिन सक्थ्यो तर युद्ध नै रोकिने स्थिति आउने थिएन, हामीले युद्धका लागि एक दशकदेखि उपयुक्त मिति पर्खिएर बसेका थियौँ,’ पूर्व मन्त्रीसमेत रहेका पूर्व माओवादीका तत्कालीन जनमुक्ति सेना मणि थापाले लोकपथसँग जनयुद्धको सुरुवाती दिनको पोयो फुकाए ।

थापा सुरुवातदेखि नै माओवादी आन्दोलनमा जोडिए । गीतसंगीत र साहित्यले जनमानसमा युद्धप्रति आकर्षित गर्ने काममा थापाको विशेष भूमिका रह्यो । थापाहरुकै गीतसंगीत र साहित्यले क्रान्ति गर्नुपर्छ भन्ने जोस मगजमा भरिएपछि बन्दुक उठाउन तयार हुनेहरु धेरै देखिए । युद्ध सुरु हुनुभन्दा पहिले नै त्यसबेलाको सत्ताको आँखा छलेर विभिन्न स्थानमा जनवादी गीतसंगीतले आम मान्छेहरुलाई जागरुक बनाउने काम नै युद्ध तयारीको कामका रुपमा अघि बढेको थियो ।
‘म खास फौजी मोर्चाबन्दीको रणनीति भन्दा पनि गीतसंगीत, साहित्यमा अघि थिएँ । आम मान्छेहरुलाई जागरुक बनाउनका लागि सांस्कृतिक अभियान सञ्चालन गर्दै सशस्त्र संघर्षका लागि आवाज पुर्याउने पहिलो प्रचारात्मक अभियानमा देशका धेरै जिल्लाहरुमा त्यसबेलै पुगेँ । युद्ध सुरु हुनुभन्दा ५–७ वर्ष अघिदेखि नै म त्यो अभियानमा लागिसकेको थिएँ,’ उनी भन्छन् ।

तत्कालीन शेरबहादुर देउवा (वर्तमान नेपाली कांग्रेसका सभापति) नेतृत्वको सरकार माओवादीले राखेको मागपत्रमा धेरै ‘लोयल’ हुने कुरै थिएन । माओवादीलगायत विभिन्न झुण्डहरुले विभिन्न माग राखेर सरकारलाई सचेत गराउने काम निरन्तर चलिरहेका कारण त्यसमा सरकारले त्यति चासो नदिँदा ‘जनयुद्ध’ सुरु गर्ने उचित मिति बन्न पुग्यो २०५२ साल फागुन १ ।

देशका विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, आर्मी ब्यारेक तथा विभिन्न निजी कम्पनीहरुमा आक्रमण नै माओवादीका लागि युद्धको संखघोष थियो । सोही दिन सिन्धुलीको गढी चौकी आक्रमण दलको सदस्य थिए थापा । सरकार पक्ष आफूहरुको मागमा सकारात्मक नभएपछि चिढिएको माओवादीमा सेना, प्रहरी, सरकारी बैंक र विभिन्न कम्पनीहरु मुख्य निशानामा परे । सुरुको दिन उनीहरुले आक्रमण गरे तर कुनै मानवीय क्षति भने गराएनन् । त्यसको खबर दरबार हुँदै सिंहदरबारसम्म पुगेको केही समयपछि मात्रै सरकार माओवादीले युद्ध नै सुरु गरिसकेछ भन्दै झस्कियो ।

थापाको स्मरणमा सुरुवाती दिन मात्र होइन सुरुवाती वर्षहरुमा नै आन्दोलनले त्यति गति लिन सकेन । युद्धप्रति आम मानिसमा कुनै चासो र जनसमर्थन प्राप्त हुन सकेन । फौजी रणनीति नहुनु, जनताको समर्थन नहुनु, युद्ध के का लागि थियो भन्ने आम मानसपटलसम्म पुर्याउन नसक्नुले नै आन्दोलनले मुर्तरुप लिन सकेको थिएन । तर २०५५ सालतिरबाट भने केही जनसमर्थन प्राप्त भएपछि युद्धले थप गति लियो ।

प्रचण्डको नाममा मर्न र मार्न तयार हुने ठूलो पंक्ति थियो । प्रचण्डको अनुहार नै नदेखी प्रशारित विचारका आधारमा मर्न र मार्न तयार भएका मणिहरु निरन्तर युद्धमा लागिरहे । कहिल्यै निराशा मनमा नछाएको बताउने थापालाई आफूहरुले बाह्य ग्राउण्डमा युद्ध गरिरहँदा नेताहरुको दिमागले खेलेको कुराहरु समयमै बुझ्न नसकेकोमा अहिले पनि पश्चाताप लाग्छ । ‘भारतीय विस्तारवाद’ को नारा प्रचण्डहरुले दिएको र नौलो जनवादी गणतन्त्र खोज्नमै बाह्य ग्राउण्डमा जनुमुक्ति सेनाहरु लडिरहँदा रियल ग्राउण्डमा प्रचण्ड, बाबुराम र किरणहरुले खेलको ‘ट्रिक’ नै बदलेको उनको आरोप छ ।

‘…प्रचण्ड, बाबुराम र किरणहरुको दिमागमा के खेलिरहेको थियो भन्ने हामीले बुझ्न सकेनौँ, त्यो नै हाम्रो गल्ती भयो । फौजी संघर्षमा मात्रै हामी खुसी भयौँ । हामी जंगलबाट गाउँ, साना शहर हुँदै ठूला शहरमा आन्दोलनका लागि आउँदा उहाँहरु भने सुरुको नयाँ जनवादबाट पछि फर्किसकेका रहेछन्,’ उनको स्मरण छ, ‘त्यो हामीले बुझेनौँ । हामीलाई सुरुमा भारतीय विस्तारवाद भनेर सिकाइयो, हामी त्यसमै आन्दोलित थियौँ र त्यही भाषा प्रयोग गर्दैै थियौँ तर उनीहरुले भारतसँगै एक किसिमको सम्बन्ध स्थापित गरिसकेका रहेछन् । त्यो धेरै पछि मात्रै थाहा भयो, जतिबेला समय घर्किसकेको थियो ।’

सायद त्यही भएर होला मणिले १२ बुँदे समझदारीमा आइपुग्दा माओवादीलाई साथ दिन सकेनन् । उनी हाल रुकुमपूर्वमा पर्ने चुनवाङमा गरिएको माओवादीको मुख्य बैठक बहिस्कार गर्ने अवस्थामा पुगे । प्रचण्ड, बाबुराम र किरणहरुले खेलको तरिका बदल्नुले नै माओवादी आन्दोलनले पूर्णता पाउन नसकेको उनको बुझाइ छ ।

‘१२ बुँदे सम्झौताले माओवादी आन्दोलनको मुख्य धारलाई कमजोर पार्न उद्धत भयो । माओवादी आन्दोलबाट जुन परिणाम देशले लिनुपर्ने थियो लिन सकेन, त्यही १२ बुँदे समझदारीबाट आफ्नो लिगेसी छोडेका कारण अहिलेसम्म पनि माओवादीप्रति वितृष्णा फैलिएको हो,’ उनी थप्छन् ।

आफैँले फलाएको फुलाएको आन्दोलनले प्रतिफल दिने बेला थापा माओवादी कित्ताबाट बाहिरिसकेका थिए । नयाँ दिल्लीमा माओवादी नेताहरु तत्कालीन ७ राजनीतिक दलहरुसँग वार्ता गर्न जाँदै गर्दा उनीसहित रविन्द्र श्रेष्ठ भने ‘भगौडा र गद्धार’ उपनामबाट गाली खाँदै माओवादीको दुस्मन जस्तै बनेका थिए ।

प्रचण्ड–बाबुरामबीचको अन्तरविरोध

देशमा त्यसबेला दरबार, दल र तत्कालीन विद्रोही जनमुक्ति सेना तीन पक्ष थियो । दरबार र अन्य राजनीतिक दलहरुलाई माओवादीका शीर्ष नेताहरुले हेर्ने दृष्टिकोण फरक फरक थियो । सुरुवातदेखि नै डा. बाबुराम भट्टराई संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीलाई मुख्य उद्धेश्य बनाउनुपर्छ भन्नेमा दृढ थिए । उनी देशमा गणतन्त्र प्राप्तीका लागि विभिन्न प्रजातान्त्रिक मुलुक र नेपालका प्रजातान्त्रिक पार्टीहरुसँग समेत मिल्नुपर्छ भन्ने लाइनमा थिए । प्रचण्ड भने बरु दरबारसँग नै सम्झौता गर्ने तर अन्य दलहरुसँग मिल्नु हुँदैन भन्ने लाइनमा थिए । एमाले कांग्रेसलाई प्रतिक्रियावादी मान्ने प्रचण्डमा बरु राजतन्त्रभित्रै देशभक्ति खोज्ने हो कि भन्ने धारणा विकसित भएको थापाको जिकिर छ । गणतन्त्र स्थापना त गर्ने तर राजा राखेर गर्ने वा नराखी गर्ने भन्ने विषयमा मनमुटाव हुँदा केही पटक पार्टीका तर्फबाट भन्दै प्रचण्डले बाबुराममाथि कारबाहीको डण्डा चलाए, त्यसको अहिले पनि चर्चा हुने गरेको छ ।

अनि बन्यो १२ बुँदे समझदारी र शान्ति सम्झौताको वातावरण

वीरेन्द्र नै राजा रहेका बेला राजनीतिक दलहरुप्रति केही नरम थिए, साथै माओवादीसँग समेत वार्ता गर्नुपर्छ भन्ने लाइन थियो । तर जब २०५८ मा वीरेन्द्रको बंशनास नै भयो, त्यसपछि आएका ज्ञानेन्द्रले दलहरुमाथि दमन गर्न सुरु गरे । ज्ञानेन्द्रको थिचोमिचोमा पर्दै गएका दलहरु र माओवादीप्रति पनि दरबार कठोर बन्न थालेपछि दुवै पक्षबीच मिल्ने वातावरण बन्यो । २०६१ माघ १९ मा जब शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिएर नेताहरुलाई जेल हाल्नु नै सबै दल एकमुष्ट रुपमा गणतन्त्रको पक्षमा आउने टर्निङ पोइन्ट बन्यो । युद्धरत पार्टीमा गणतन्त्रको विषयमा विभिन्न धार र अन्तरविरोहरु थिए, प्रचण्ड–बाबुराम–वैद्य र मणि थापाहरु ।

त्यसका लागि विभिन्न गोप्य बैठकहरु भए । माओवादीको महत्वपूर्ण मानिएको चुनवाङ बैठकपछि माओवादी अन्तरिम सरकारको लाइनमा गए पनि चुनवाङ बैठकपछि माओवादीले अन्तरिम सरकारको लाइन छाड्यो भन्दै उनीहरुले विद्रोह गरे । तर माओवादीमै रहने कतिपय नेताहरु पनि त्यसमा पूर्ण सहमत त थिएनन् तर नेतृत्वको सामु आवाज उठाउन नसकेपछि उनीहरु त्यतैतिर रहे । दिल्लीमा भएको १२ बुँदे समझदारीले माओवादीसँग नेपाली कांग्रेस, नेकपा एमालेलगायत ७ राजनीतिक दलबीच एकता कायम गर्यो । ०६२ साल मंसिर ७ गते दिल्लीमा भएको सम्झौतापछि संयुक्त जनआन्दोलन र ०६३ साल मंसिर ५ गते तत्कालीन माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता गर्ने वातावरण बन्यो ।

युद्धकालमै शक्तिमोहमा प्रचण्ड
विद्रोही माओवादीभित्र धेरै लामो समय प्रचण्डको नाममा विचार बनाउने कि नबनाउने भन्नेमा ठूलो ‘डिबेट’ थियो । अहिले नै प्रचण्डपथ बनाइहाल्न हुँदैन भन्ने प्रश्न गर्ने मणि थापाहरुको लाइन थियो ।

त्यसबेला माओवादीभित्र पार्टी, जनमुक्ति सेना र संयुक्त मोर्चा तीन पक्ष थियो । पार्टी र जनमुक्ति सेनाको अध्यक्ष प्रचण्ड र संयुक्त मोर्चाको अध्यक्ष बाबुराम भट्टराई थिए । तर प्रचण्डले तीन धारकै नेतृत्व आफैँले गर्ने महत्वाकांक्षा देखाएपछि माओवादीमा थप विचलनको अवस्था आएको थियो । फुन्टिवाङ बैठकमा प्रचण्डले त्यससम्बन्धी प्रस्ताव राखे तर मणि थापाहरुले तीन वटै पक्षको अध्यक्ष फरकफरक व्यक्ति हुनुपर्छ भन्ने धारणा राखेपछि थापाहरुमाथि नेतृत्वको शंकालु नजर पर्न थाल्यो ।

कुनै झडप र त्यसपछिको परिणाम भने वर्षौसम्म दिमागमा ताजै रहन्छ, जसले बेलाबेला झस्काइरहन्छ । त्यस्तै घटना बनेको छ मणि थापाको दिमागमा पनि ……

फुन्टिवाङदेखि चुनवाङ बैठकसम्म आइपुग्दा मणि थापाहरुले माओवादीबाटै बिदा लिनु परेको थियो । तर ती बैठकहरुमा फरक मत राख्नेहरु नै हुन्, जो अहिले माओवादीमा छैनन् ।

‘त्यसबेला भिन्न मत राख्नेहरु बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’हरु पनि थिए । ज–जसले नेतृत्वको निर्णयविरुद्ध फरक मतहरु राखे उनीहरु आज माओवादीको मुलधारमा छैनन् । १२ बुँदे गलत भन्दै मोहन वैद्यहरुको पनि विपक्षी धारणा राखेका थिए । बादलसँग अन्तरविरोध थियो नै,’ थापाको स्मरण छ ।

भगौडा र गद्धारको संज्ञा पाएका थापा ०७१ सालमा पुनः माओवादीको मुलधारमा फर्किए । दोस्रो संविधान सभासम्म आइपुग्दा खुम्चिएको माओवादीलाई पुनः ‘रिभाइभ’ गर्न सकिने अवस्था थियो भन्ने उनलाई अझै लाग्छ । त्यही देखेर नै उनीलगायतका नेताहरु पुनः त्यहाँ जोडिन आइपुगे । उनीहरु आएको केही समयमा नै माओवादी पुनः एमालेसँग एकता गर्ने बाटोमा थियो, जसले उनीहरुलाई थप झस्कायो । एमालेसँग मिलेर चुनाव लड्न सकिने, सरकार बनाउन सकिने तर वैचारिक दूरी र स्कुलिङ फरक छ भन्दै माओवादीको त्यसबेलाको स्थायी कमिटीको अन्तिम बैठकमा उनै मणि थापाहरुले फरक विचार राखे । तर पार्टी एकता भई भंग हुँदासम्म उनीहरु फेरि एमाले कित्तामा उभिन पुगे । तत्कालीन अवस्थामा केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाको एमाले कित्तामा पुगेपछि उनलाई एमालेले सुरुमा मन्त्री दिएर राम्रै स्वागत गर्यो । तर ओलीको केन्द्रीकृत शासन विद्रोह गरेर आएका मणिलाई त्यति पाच्य भएन । जसकारण पार्टी केन्द्रीकृत भयो, दक्षिपन्थी धारमा पार्टी र नेतृत्व गयो भन्ने एकै भाषणले उनलाई एमालेबाट हात धुनुपर्ने अवस्थामा पुर्‍याइदियो ।

मणि थापाले बिर्सिन नसकेको ऐँसेलुखर्कको त्यो झडप

फर्किएर हेर्दा मणि थापालाई १० वर्षे जनयुद्धकाल चलचित्र जस्तो लाग्छ । ‘मर्न र मार्न’ तयार भएर हिँडेपछि झडप र आक्रमणका घटना सामान्य हुन् । तर कुनै झडप र त्यसपछिको परिणाम भने वर्षौसम्म दिमागमा ताजै रहन्छ, जसले बेलाबेला झस्काइरहन्छ । त्यस्तै घटना बनेको छ मणि थापाको दिमागमा पनि । २०६० सालमा भोजपुरको आर्मीको टावर हान्ने बेलामा मेची–कोशी ब्रिगेडको ‘सातौँ ब्रिगेडको कमिसनर’ थिए उनी ।

उनकै नेतृत्वमा आर्मी ब्यारेक हान्न तयारीका साथ गएको माओवादी र त्यसबेलाको शाही नेपाली सेनाबीच ऐसेलुखर्कमा भीषण युद्ध भयो । उक्त आक्रमणमा परी ३ जना माओवादी जनमुक्ति सेनाको निधन भयो । उनीहरुले तीनमध्ये दुई वटा शव त्यहाँभन्दा अलि पर लगेर सदगद गरे । केही समयअघि जनमुक्ति सेनाले पाँचथरमा ५ जोडीको विवाह गरिदिएको थियो । त्यही ५ जोडीमध्ये २ जनाको जोडी त्यो ऐँसेलुखर्क आन्दोलनमा मारिन पुगेको थियो । पछि थापाले उनीहरुको सम्झनामा ‘पूर्वका तीन तारा…’ भन्ने गीत पनि लेखे, जुन अहिले पनि यूट्यूबमा चर्चित छ ।

शान्ति प्रक्रियासम्म आइपुग्दाका ताता बैठकहरु

अहिले फर्किएर हेर्दा यदि १० वर्षे सशस्त्र युद्ध नै नभएको भए के हुन्थ्यो, मुलुक कहाँ पुग्थ्यो होला ? भन्ने धारणाहरु पनि छन् । २०५१ को मध्यावधि निर्वाचन र ४० बुँदे मागमा सरकारको सकारात्मक दृष्टि हुन नसक्नु नै अलि छिट्टै माओवादीले क्रान्तिको सुरुवात गरेको भन्ने तर्कहरु विकसित छन् । तर विश्वको ध्यान खिच्ने नेपालको १० वर्षे माओवादीको सशस्त्र युद्ध र शान्ति प्रक्रियाको बाटो त्यति सहज थिएन । दरबार, दल र माओवादी त्रिकोणात्मक संघर्षकै कारण अन्ततः मुलुक अहिलेको व्यवस्थामा छ । त्यसबीचमा तत्कालीन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला, तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र कार्यवाहक महासचिवका रुपमा वामदेव गौतमलगायतले युद्धरत पक्षसँग कहिले रोल्पा, कहिले रुकुम पुगेर गरेका वार्ताहरु १२ बुँदे समझदारी र शान्ति प्रक्रियाको बाटोसम्म आउने मुख्य आधार बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?