बालअधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

लोकपथ
14
Shares

काठमाडौं । आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको संरक्षणका लागि परिणाममुखी कार्य गर्न सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गरेको छ ।

दिवसका अवसरमा आज आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बालअधिकार संरक्षण गर्न सबैको सहयोग र सहकार्य आवश्यक पर्ने उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, कानुन र महासन्धिमा भएका प्रावधानको पालना गर्न/गराउन, बालअधिकार हननमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न, बालबालिकाको आधारभूत अधिकारको सुनिश्चितता गर्न, बालसहभागितासहितको अधिकारको सम्मान, सुधार गृहको व्यवस्थित रूपमा सञ्चालन गर्न तथा अन्य बालमैत्री आवश्यक कार्य गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ ।’ 

आयोगले बालअधिकारका विषयमा नियमित अनुगमन गर्दै आइरहेको विज्ञप्तीमार्फत जनाइएको छ । राज्यबाट बालश्रमिकको उद्धार, बालश्रम निवारण कोषको स्थापना, दिवाशिशु स्याहार, दिवाखाजा कार्यक्रमलगायत केही सकारात्मक कार्य भइरहेको पनि आयोगले विज्ञप्तीमा जनाएको छ ।

अहिले पनि नेपालमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको सिकार, शिक्षा र स्वास्थ्यबाट बञ्चित, बालबालिका विद्यालय बाहिर हुनु, बिचैमा विद्यालय छोड्नेको सङ्ख्या नघट्नु, बेचबिखनको जोखिम, बाल न्यायको अभावलगायत समस्या देखिएको आयोगको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?