एक करोड एनईभी उत्पादन गरेको बीवाईडीले मनायो ३०औँ वार्षिकोत्सव

लोकपथ
77
Shares

शेन्जेन । विश्वकै प्रमुख नयाँ न्यू इनर्जी भेइकल र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ । अटोमोबाइल उद्योगमा विश्वव्यापी रुपमा उदाएको बीवाईडीले एक करोड एनईभी अर्थात विद्युतीय सवारी उत्पादन गरेको जनाएको हो । योसँगै बीवाईडी एक करोड न्यू इनर्जी भेइकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ ।

वार्षिकोत्सव समारोहमा बीवाईडीका अध्यक्ष वाङ चुआन्फुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएको बहुराष्ट्रिय कम्पनीमा परिवर्तन हुनु आफैमा गौरव भएको बताए । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्वपूर्ण भूमिका रहेको जनाए । उनले बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको बताए ।

आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणा समेत गरेको छ ।

बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । शुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो। सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो ।

सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारी साधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।

सन् २००४ मा बीवाईडीले पहिलो कार उत्पादन गरेको थियो । ३१६ नाम दिइएको सो कारप्रति डिलरहरुले खासै चासो नराखेको कारण यसको उत्पादन नै रद्द गरियो ।

त्यसपछि सन् २००५ मा बीवाईडीले आफै उत्पादन गरेको पहिलो कारको रुपमा बीवाईडी एफ३ लन्च गरियो । सो कारप्रति ग्राहकको चासो बढ्दै गयो र मासिक रुपमा १० हजार युनिट भन्दा बढी बिक्री हुने पहिलो चाइनिज मोडल बन्यो ।

बीवाईडीले पहिलो इलेक्ट्रिक कार एफ३ई सन् २००८ मा सार्वजनिक गरेर औपचारिक रुपमा न्यू इनर्जी भेइकल बजारमा प्रवेश ग¥यो । यसपछि सन् २०२० मा बीवाईडीले ब्लेड ब्याट्री लन्च गर्यो, जुन सेफ्टी, रेन्ज र चार्जिङ स्पिडमा निकै राम्रो भएकाले उत्साहजनक सफलतातर्फ अग्रसर रह्यो।

सन् २०२२ नोभेम्बर १६ अर्थात ठ्याक्कै तीन वर्ष पहिले बीवाईडीले ३० लाखौ एनईभीको रुपमा प्योर इलेक्ट्रिक बीवाईडी सिल सार्वजनिक गरेको थियो। त्यसैगरी, ५० लाख एनईभी सन् २०२३ अगस्ट ९ मा सार्वजनिक गरिएको थियो भने क्रमिक रुपमा उत्पादन बढ्दै गएर यही वर्षको सेप्टेम्बरमा ९० लाख एनईभी उत्पादन भएको थियो । करिव दुई महिनाकै अवधिमा कम्पनीले फेरि १० लाख उत्पादन बढाएर एक करोड सवारी अर्थात एनईभी सार्वजनिक गरेको हो ।

बीवाईडीले सवारी साधन वाहेक ब्लेड ब्याट्री, डीएम हाइब्रिड सिस्टम, ई–प्ल्याटफर्म ३.० ईभो र डिसस सिस्टम जस्ता महत्वपूर्ण प्रविधिमा समेत प्रशस्तै लगानी गरेर उपलब्धि हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?