काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा हुने उडानमा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र अन्य गन्तव्यहरूमा ५ हजार रुपैयाँ छुट दिने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले सो को जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रमेश पौडेलका अनुसार शुक्रवारदेखि लागू हुने गरी भारतमा हुने उडानमा प्रति व्यक्ति २ हजार ५ सय रुपैयाँ र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता उडानमा बजार भाडा दरमा ५ हजार रुपैयाँ छुट दिइएको हो ।
नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी भएकाले सरकारको निर्देशन बमोजिम भारतको दिल्ली, मुम्बई र बैंगलोरमा हुने उडानमा प्रति टिकट २ हजार पाँच सय रुपैयाँसम्म छुट दिइएको हो ।
बुधवार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निगमलाई विशेष निर्देशन दिँदै राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने भएकाले भाडामा छुट दिन भनिएको थियो । मन्त्रालयको निर्देशन बमोजिम भाठडामा छुट दिइएको निगमले जनाएको छ ।
हाल भारतको दिल्लीका लागि औसत भाडा दर ३८ हजार रुपैयाँ रहेको छ । अब छुट दिएसँगै निगमले प्रति टिकट ३५ हजार ५ सय रुपैयाँमा विक्री गर्नेछ । तर छुट पाउनका लागि पनि निश्चित कोटा रहेको र पहिले टिकट काट्ने व्यक्तिलाई पहिलो प्राथमिकतामा राखी छुट दिने व्यवस्था गरिएको निगमले जनाएको छ । यस्तो छुट बिजनेस क्लासमा जानेको हकमा भने लागू नहुनेसमेत निगमले जनाएको छ ।
त्यसै गरी दोहाका लागि हाल नियमित उडानको भाडा ६७ हजार रुपैयाँ रहेकामा पहिले आउने व्यक्तिले पहिलो प्राथमिकता पाउने गरी सीमित सिटहरूमा ५ हजार रुपैयाँ छुट दिने बताएको छ । यसरी हेर्दा हालका लागि दोहाको इकोनोमी क्लासको एकतर्फी टिकट ६२ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यस्तै नोभेम्बर २८ तारिखमा काठमाडौं क्वालालुम्पुरको एकतर्फी उडानको औसत भाडा दर ५४ हजार रुपैयाँ रहेकामा छुटपछि त्यहाँको एकतर्फी भाडा ४९ हजार रुपैयाँ कायम हुनेछ । सोही दिन अन्य विमान कम्पनीहरूको औसत भाडा भने ५५ हजार रुपैयाँ रहेको छ ।
निगमले नोभेम्बर २२ तारिखसम्म विक्री भएको टिकटमध्ये क्यान्सर पीडित बिरामीका लागि ३७ जनालाई शतप्रतिशत छुट र उनीहरूका ३३ जना कुरुवाका लागि ५० प्रतिशत छुटमा भारतका लागि टिकट विक्री गरेको जनाएको छ । त्यसै गरी नेपाल सरकारका कर्मचारीहरूमध्ये २१ जनालाई भाडामा १५ प्रतिशतको छुट दिइएको बताएको छ । निगमले नेपाल सरकारका सबै कर्मचारीलाई हवाई भाडामा १५ प्रतिशत छुट दिने गरेको छ ।
गत वर्षकै भाडा कायम रहेको दाबी
नेपाल वायुसेवा निगमले यस वर्ष पनि गत वर्षकै भाडा कायम भएको बताएको छ । हरेक वर्ष नोभेम्बर महिनामा यात्रुको भाप बढी हुने र माग तथा आपूर्तिको आधारमा भाडा निर्धारण हुने गरेको भन्दै यस वर्ष पनि गत वर्षकै भाडा दर कायम गरिएको जनाएको छ । निगमका प्रवक्ता पौडेलका अनुसार दिल्लीका लागि गत वर्ष नै इकोनोमी क्लासका लागि न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम ३८ हजार रुपैयाँको भाडा दर कायम भएकामा यस वर्ष पनि सोही दरमै टिकट विक्री गरिएको जनाएको छ ।
त्रिभुवन विमानस्थल निर्माणका कारण १० घण्टा विमानस्थल ठप्प भए पनि गत वर्ष भन्दा भाडा वृद्धि नगरिएको र गत वर्ष कै आधार दरमा टिकट विक्री भइरहेको जनाएको छ । त्यसै गरी आफूले दिएको रेटमा कुनै ट्राभल एजेन्सीले अस्वाभाविक नाफा खाएको पाएमा र कसैले प्रमाणसहित पेस गरेमा त्यस्ता एजेन्सीलाई कारबाही गर्नेसमेत जनाएको छ ।
निगमले कहाँको भाडा कति घटायो ?
१. दिल्ली, मुम्बई र बैंगलोर : औसत भाडामा २,५०० छुट
२. दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र जापानको नारिता : औसत भाडामा ५,००० छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया