काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको अवस्था अझै सन्तोषजनक नभएको बताएका छन् ।
शुक्रबार संघीय संसद् भवनभित्र भएको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’ विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रको अवस्थामा सुधार भए पनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै अर्थतन्त्रलाई थप गति दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रो आवश्यकता धेरै छन्, साधन स्रोत कम छन्, गर्नुपर्ने काम धेरै छ । त्यसैले कसरी बढिभन्दा बढी प्रभावकारी तरिकाबाट सरकारले काम गर्न सक्छ, परिणाम ल्याउन सक्छ भन्ने विषयमा निरन्तर सुझाव सल्लाहको आवश्यकता पर्छ । अर्थतन्त्रको सबै समस्या समाधान भएको अवस्था छैन् । सुधार भएका छन् तर सन्तुष्ट भएर बस्ने अवस्था छैन् । अर्थतन्त्रलाई थप गति दिन आवश्यक छ ।’
अर्को प्रसंगमा प्रवक्ता डा. महतले चीनसँगको बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।
डा महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् । बैठकमा छाता संगठनलगायत सबै संस्थाहरूसँग अर्थतन्त्रलाई थप सुधार गर्न र व्यवस्थित गर्न सुझाव लिएको पनि उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया