काठमाडौं । टेस्लाका सीईओ एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्क टेस्ला, एक्स र स्पेसएक्सका मालिक हुन् ।
विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार, मस्क ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनीसँग अहिले भएको सम्पति यसअघि कुनै पनि धनाड्यसँग थिएन । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सम्पति थप बढेको हो ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढ्दा उनको सम्पत्ति पनि बढेको हो ।
मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो । गत नोभेम्बर ५ मा भएको राष्ट्रपति निर्वाचनमा मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा उल्लेख्य आर्थिक सहयोग गरेका थिए । ट्रम्प राष्ट्रपतिमा विजयी भएपछि उनले मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया