काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो बहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन् ।
आइतबार साहित्यमा नारीवाद :नयाँ दृष्टिकोणको खोजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कहिलेकाहीं स्वार्थी पत्रहरुका कारण वास्तविक भावनाहरू छोपिने भन्दै विमर्शहरूले स्वार्थको पत्र उक्काएर मानवताको वास्तविकता के हो भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘कहिले काँही हामी स्वार्थका पत्रहरूले छोपिन्छौं । वास्तविक भावनाहरू छोपिन्छन् । त्यस कारणले यस्ता विमर्शहरूले ती स्वार्थको पत्र उक्काउनुपर्छ र उक्काएर मानवताको वास्तविकता के हो भन्ने कुराको खोजी गर्नुपर्छ । यस्तो बहस कम भएको देख्छु । नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा यस्ता बहस अगाडि बढाउनुपर्छ । हामीसँग विभिन्न अनुसन्धान केन्द्रहरू छन्, पुस्तकालयहरू छन् । यी ठाउँमा यस्ता विमर्श हुनुपर्छ तर यस्तो संस्कार घटेको देख्छु ।’
उनले राजनीतिमा महिला नेतृत्वको कुरामा केही फड्को मारेको भएतापनि त्यसलाई परिणाममुखी बनाउनका लागि समाजका अरू क्षेत्रहरू जागरित हुनुपर्ने धारणा राखे ।
मन्त्री पाण्डेले साहित्यमा नारीवाद भनेको समाज कै निम्ति खोजिएको र विभिन्न समूह, वर्ग भित्रको एउटा न्याय खोजेका बताए । नारीवादको सन्दर्भमा नयाँ दृष्टिकोण बनाउन जरुरी रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया