रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

६, ७, १० र १३ सँगै पछिल्लो पटक १५ दिन म्याद थप

लोकपथ
105
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको आइतबारको इजलासले उनलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि उनलाई क्रमशः ६, ७, १० र १३ दिन म्याद थप गरिएको थियो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज कार्यालय समय अगावै कास्की जिल्ला अदालत लगिएको थियो । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएसँगै आज फेरि उनलाई अदालत उपस्थित गराइएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ परेका लामिछाने ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगीका अलावा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई त्यहीँ हुँदाहुँदै बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि बुटवल पनि लगिएको थियो । म्याद थपसँगै उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि काठमाडौं ल्याउन प्रक्रिया अघि बढाइने भएको छ ।

लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध गोर्खा मिडिया नेटवर्कमा रहँदा स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जोशीलाई भने बयान लिएर पोखरा लगिसकिएको छ । यसैगरी, चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको देखिएको छैन । तर यी सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रवि पनि जोडिएकाले उनी अनुसन्धानको दायरामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?