‘महजात्रा’मार्फत् महजोडीको पुनरागमन : देशको भ्रष्टाचार र बेथितिमाथि चर्काे व्यंग्य

लोकपथ
70
Shares

काठमाडौं । ‘महगाँठो’ अर्थात् वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको ४ दशकभन्दा बढी समयदेखिको अटुट मित्रता । दर्शकदीर्घाबाट परर… ताली पड्किन्छ, अनि शिक्षकको रुपमा आउँछन्, मदनकृष्ण । नमस्कारका प्रकार, गाँठोका प्रकारलगायत ‘च्याप्टर’ का लागि क्लास सुरु हुन्छ ।

मुटुमा पेसमेकर राखेर वर्षौँदेखि हिँडिरहेका मदनकृष्णलाई आफ्नै शरीरले साथ दिन छाडेको धेरै भइसक्यो । जसकारण पनि होला, महजात्रा–२०८१ मा पनि धेरै भूमिका कुर्सीमा बसेर नै गर्ने बनाइएको छ ।

शिक्षकको रुपमा उपस्थित मदनकृष्णले ‘नमस्कार’को प्रकार पढाइसकेपछि गाँठोका प्रकारबारे पढाउँदै जाँदा बृहत् नेपाली शब्दकोषमा छुटेको गाँठोका प्रकारबारे प्रष्ट पार्छन्, त्यो थियो महगाँठो । सुरुमै भनिएजस्तो मदनकृष्ण र हरिवंशको गाँठो जो ४ दशक बढीदेखि चुँडिएको छैन । अटुट रुपमा रहेको आफूहरुको मित्रता राजनीतिमा हुन नसकेको र देशले यो गति भोग्नु परेको मदनकृष्ण श्रेष्ठले व्यंग्य कसे । व्यंग्यात्मक शैलीमा उनले शेरबहादुर देउवा र केपी शर्मा ओलीको टुटफुटपूर्ण मित्रता अर्थात् ‘शेर–ओली गाँठो’ बारे चर्चा गर्छन् । जहाँ दर्शकको हाँसो रोकिन्न । आफ्नो स्वार्थ मिल्दा मिल्ने र नमिल्दा फुक्ने ओली–देउवाको सम्बन्धलाई विंवादात्मक रुपमा ‘शेर–ओली गाँठो’ को चर्चा गर्छन् । जुन गाँठो धेरै कमसल रहेको भन्दै नेपाली राजनीतिमा कुर्सीका सत्ताको काँध फेराइलाई व्यंग्य कस्छन् ।

महजात्रा–०८१ मा विभिन्न कोणबाट राजनीतिमाथि प्रहार गरिएको छ । राजनीति, भ्रष्टाचार, बेथिति विसंगतिले जरा गाडेको अवस्थालाई विभिन्न कोणबाट उदांगो पार्ने काम मदनकृष्णले गर्छन् ।

यमराज र चित्रगुप्ताको भूमिकामा देखिएका हास्य कलाकारद्वय शिवहरि पौडेल र राजाराम पौडेलले यमलोकबाट पृथ्वीको गतिविधि नियाल्न थाल्छन् । नेपालको राजनीति, नेताहरुले जनतामाथि वर्षौँदेखि गरेको ढाँटछललाई यमलोकबाट विश्लेषण गर्दै देश बिग्रनुमा नेताको मात्र हात नभएको भन्दै त्यसमा जनता सचेत हुन नसकेको चित्रण गर्छन् । यमलोकबाट नेपालको राजनीति, कुरीति र जरो गाडेको भ्रष्टाचारलाई यमराज र चित्रगुप्ताको व्यंग्यले राजनीतिलाई उदांगो बनाउँछ ।

भरपुर हाँसो र सन्देशको महजात्रामा धार्मिक पक्षबाट समेत नेता, तिनको चरित्र र राजनीतिप्रति कडा व्यंग्य गरिएको छ ।

‘धुम्कुति पाक धुम भजन’ का लागि पण्डितको भेषमा आउँछन् मदनकृष्णका छोरासमेत रहेका कलाकार यमन श्रेष्ठ । पण्डितबाजेको भूमिकामा मञ्चमा उक्लिएका यमनले राजनीतिप्रति व्यंग्य कस्तै देशमा युवाहरु बस्ने वातावरण नभएकोप्रति भजनकै भावमा कटाक्ष गर्छन् ।


‘ढाँट्न सिकाइदेउ प्रभु लुट्न सिकाइदेउ, देशलाई ठगी घुरीघुरी सुत्न सिकाइदेउ,’ यमनको व्यंग्य छ । घुस नर्कबराबर रहेको भन्दै पदमा हुँदा आफ्नो पदीय दुरुपयोग गर्ने नेतादेखि कर्मचारीसम्मलाई भजनको माध्यमबाट व्यंग्य कस्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा एकजुट हुन यमनको आह्वान छ ।

एक घण्टाभन्दा बढी समय एकै कुर्सीमा बसेका कारण दर्शकदीर्घामा भोकको महसुस हुन थाल्छ । ‘स्क्रिन’ मा एकाएक मःम देखिन्छ । दर्शकबाट कुनै उत्कृष्ट मःम पसलको विज्ञापन होला भन्ने जिज्ञाशा हुनु स्वभाविक हो । एकाएक मःम मन्त्री हरिबहादुर नेपालकोटी त्यहाँ ‘उपाध्याय मःम सेन्टर’ उद्घाटनका लागि आइपुग्छन् । हास्यव्यंग्यका बादशाह हरिबंशले नेपाली नेताको भूमिकामा नेतामाथि व्यंग्य गर्न थाल्छन् ।

हरेक कार्यक्रममा गलाभरी माला र खादा लगाउन लालायित हुने नेता, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई खादा कहाँ उत्पादन हुन्छ भन्ने हेक्का हरिबंशको व्यंग्यले गराउँछ । मञ्चमा बस्नै पर्ने, अनिवार्य र लम्बेतान रुपमा पदअनुसार सम्मानसहित आशनग्रण गराउँनै पर्ने, गला नै गल्नेगरी खादा माला लगाउनै पर्ने नेपाली प्रवृत्तिमाथि हरिबहादुरको कटाक्ष छ ।

जनतालाई सहज रुपमा सेवा दिन भन्दै प्रदेश संरचनामा देश जाँदा जनताको भन्दा नेताको सेवाका लागि प्रदेश संरचना बनाइएको भन्दै हरिबहादुर मञ्चमा जंगिन्छन् । मन्त्रीको भूमिकामा देखिएका उनले प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरुसम्म शिलान्यास र उद्घाटनमा रमाएको भन्दै ७ प्रदेशमा ७ उद्घाटनमन्त्री थपेको व्यंग्य गर्छन् । कामले तिव्रता नपाउने, काम सम्पन्न नहुने भए पनि आफ्नो नाम लेखाउनका लागि उद्घाटनमा रमाउने प्रवृत्तिमाथि व्यंग छ ।

आफ्नै औचित्यमाथि प्रश्न उठ्दै गइरहेको प्रदेश संरचनामाथि व्यंग्य गर्दै हरिबहादुर थप्छन्, ‘… अब उद्घाटन गर्ने मन्त्री नपुगेर हाम्रो सरकारले ७ वटै प्रदेशमा सात/सात जना उद्घाटनमन्त्री थप्ने निर्णय गरेको छ । उनीहरुलाई चढ्न सात/सात गरी ४९ वटा हेलिकप्टर पनि हामीले अर्डर गरिसकेका छौँ । कमिसनको कुरा नमिलेर, खाली कमिसनको कुरा नमिलेर आइसकेको छैन ।’

मःमप्रेमी नेपालीहरुका लागि चोकचोकमा मःम सेन्टर खुलेको र त्यसबाट हजारौँले रोजगारी पाएको भन्दै निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानलाई कम आँक्न नहुने सन्देश ‘उपाध्याय मःम सेन्टरको उद्घाटन’ ले दिन्छ । लामो समयदेखि नेपालभित्रका बेथिति विसंगतिमाथि प्रहार गर्दै राजनीति नेताहरुलाई सतर्क गराउँदै आइरहेका महजोडीले नेपालीपन मर्दै गइरहेकोमा नेताहरुको आँखा खोल्ने काम गरेका छन् ।

खाना, भेषभूषा, भाषा, रहनसहन सबैमा विदेशी संस्कार र संस्कृतिको प्रभाव देखिएकोमा व्यंग्य गर्दै नेपाली उत्पादनले बजार भाउ र आफ्नोपन गुमाइरहेकोप्रति बेलैमा सचेत हुनुपर्ने हरिवंशको व्यंग्य छ । कृषिप्रधान देशका किसान हामीलाई पछिल्लो समय बाहिरबाट आयात गरेका खानेकुरा, फलफूलदेखि तरकारीसम्मले परनिर्भर बनाइरहेको छ । केही समयअघि भारतीय बजारबाट आएको स्याउलाई निस्तेज पार्न नेपालकै जुम्ला र मुस्ताङको स्याउ नेपालीको घरमा पुर्याउन अभियन्ताहरुले अभियान नै चलाएका थिए ।

‘केरा इण्डियाको, स्याउ चाइनाको..
हिमालमा फल्या स्याउलाई भावै दिन्नन् भो,’
हरिबंश र मदनकृष्णको व्यंग्य छ ।

अन्तिममा हरिबंश, मदनकृष्ण, किरण केसी र नरेन्द्र कंसाकारको अभियन रहेको नेपालको स्वास्थ्यका क्षेत्रमा भइरहेको विकृति र विसंगतिबारे मिहिन ढंगले व्यंग्य गरिएको छ । बिरामीका रुपमा आएका हरिबंशलाई होलबडी चेकअपका लागि अस्पतालले गरेको ठगी देखाइएको छ । जुन हामीले बेलाबेला सुन्ने गरेको अस्पतालले आम सर्वसाधारणलाई पारेको मर्का जस्तै महजोडीले स्वास्थ्य क्षेत्रमा आम नागरिकले भोग्नुपरेको समस्या र सरकारको ध्यान पुग्न नसकेको अवस्था देखाइएको छ । करिब १ दशकदेखि महजोडीको प्रस्तुती कुरेर बसिरहेका दर्शकले भरपुर रुपमा हाँसो, व्यंग्य, मनोरञ्जन र सन्देशको स्वाद एकैठाउँमा भेटाइनेछ ।

एकदशकपछि महजात्रामार्फत् महजोडीको पुनरागमनले आम दर्शकलाई तानिरहेको छ । गत कार्तिक २९ गतेबाट सुरु भएको महजात्रा मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको महजात्रा कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७ र १८ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?