काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलटहरु एकाएक बिरामी भन्दै विदामा बसिदिएपछि निगमको उडान प्रभावित बनेको छ । गत बिहीबारदेखि पाइलटहरु एकाएक ‘बिरामी’ बन्न थालेका हुन् ।
आइतबार राती नेपाल वायुसेवा निगमले विज्ञप्ति नै निकालेर सुनियोजित रुपमा पाइलटहरु विदामा बसेको भन्दै काममा फर्किनसमेत आग्रह गरेको छ । पारिश्रमिक तथा सेवा सुविधा वृद्धिको माग गर्दै पाइलटहरु केही समयदेखि आन्दोलनमा रहेका थिए । वार्ता चलिरहेकै समयमा गत बिहीबारदेखि पाइलटहरु एकाएक बिरामी परेको भन्दै विदामा बस्न थालेका थिए । हडतालकै रुपमा पाइलटहरु आफूखुसी विदामा बस्न थालेपछि निगमको उडानसमेत प्रभावित बनेको छ ।
निगममा कार्यरत रही अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरूले केही समय पहिलेदेखि आफ्नो तलब तथा सेवा सुविधा वृद्धिको माग राख्दै विभिन्न चरणको आन्दोलन गरिरहेका छन् । पाइलटहरूको सेवा सुविधा वृद्धिको विषयमा छलफल र वार्ता चलिरहँदा गत बिहीबारदेखि पाइलटहरूले ‘बिरामी हडताल’ सुरु गरेका थिए ।
गत बिहीबारदेखि केही पाइलटहरूले एकाएक बिरामी परेको भन्दै काममा आउन नसक्ने जानकारी गराउन थालेका छन् । मङ्सिर ६ गतेदेखि एकाएक सिक रिपोर्ट भर्दै उडानमा आउन नसक्ने जानकारी गराउन थालेपछि यसको असर अन्तर्राष्ट्रिय उडानमा पर्न थालेको छ । निगममा कार्यरत ४३ जनामध्ये ८ जना पाइलटहरूले मङ्सिर ६ गतेबाट एकाएक सिक रिपोर्ट गराउन थालेका थिए ।
हवाई उडानको पिक सिजनमा सुनियोजित रूपमा विमान उडाउन छाडेर हडतालमा उत्रिएको कारण निगमलाई आर्थिक क्षति सुरु भएको निगमको विज्ञप्तिमा उल्लेख छ ।
अहिले सबै अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा उच्च रहेको र फुल अकुपेन्सीमा उडान भर्ने समयमा पाइलटहरूले हडताल गर्दा निगमलाई आर्थिक क्षति पर्न सुरु भएको निगमले जनाएको छ ।
अन्य विमान कम्पनीको संलग्नताको आशङ्का
हवाई उडानको पिक सिजनमै पाइलटहरू हडतालमा उत्रिएपछि नेपाल एयरलाइन्सको विमान ग्राउण्डेट हुने खतरा आइपुगेको छ । निगमले अहिले अन्तर्राष्ट्रिय उडानको भाडा समेत केही घटाएको कारण त्यसको असर नेपालमा उडान भर्ने अन्य विमान कम्पनीलाई समेत परिरहेको थियो । अन्य विमान कम्पनीसमेत हवाई भाडा घटाउनै पर्ने बाध्यकारी अवस्थामा आइपुगेको बेला निगमका पाइलटहरू हडतालमा उत्रनुलाई अन्य विमान कम्पनीको उक्साहट र फण्डिङ समेतको आशङ्का गरिएको छ ।
निगमका एक अधिकारीका अनुसार पाइलटहरूको सेवा सुविधा र पारिश्रमिक वृद्धिको माग पुरानै भए पनि पिक सिजनमा उनीहरू हडतालमा उत्रनुको कारणचाहिँ अन्य विमान कम्पनीको उक्साहट नै हो । यति बेला नेपाल एयरलाइन्सका पाइलटलाई हडतालमा उतारेर निगमलाई ग्राउण्डेड पार्न सकिए महँगो भाडा सीमित विमान कम्पनीहरूले मात्रे उठाउन पाउने र हवाई भाडामा समेत मनोमानी गर्न सकिने हुन्छ । त्यसै कारण अन्य विमान कम्पनीहरूले फण्डिङ नै गरेर एकाएक निगमका पाइलटलाई हडतालमा उतारेको निगमका एक अधिकारीले बताए ।
हाल नेपाल एयरलाइन्समा ४३ जना पाइलट कार्यरत छन् । ४३ जनामध्ये ८ जनाले गत बिहीबारदेखि शनिवारसम्म आपत्कालीन बिरामी फारम भरेका छन् । उनीहरू बिरामी भएर भन्दा पनि हडतालकै रूपमा बिरामी भएको जानकारी गराएको पाइएको छ । त्यसको असर उडान तालिकामा पर्न थालिसकेको भन्दै निगमले पाइलटहरूलाई तत्काल हडताल छाडेर काममा फर्किन आग्रह गरेको छ । काममा नफिर्किई विमान उडानमा अवरोध पुराएमा नियम अनुसार कारबाही गर्ने चेतावनीसमेत निगमले दिएको छ ।
निगमका अपरेसन विभाग प्रमुख क्याप्टेन दिपु ज्वारचनद्वारा जारी विज्ञप्तिमा पाइलटहरूको पारिश्रमिक वृद्धिको सम्बन्धमा छलफल भइरहेको र सोमबार अर्थमन्त्रीसँग समेत भेटको व्यवस्था गरिएको भन्दै सुनियोजित रूपमा बिरामी फारम नभर्न र काममा फर्किन आग्रह गरिएको छ । यदि काममा नफर्किई यही तरिकाको हडताल गरे निगमलाई आर्थिक क्षति पुराएमा कारबाही गर्नेसमम्मको चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया