११ जनाविरुद्ध मानव तस्करी र लिखत किर्तेमा मुद्दा दायर

कोशी प्रदेशका पूर्व मन्त्री अधिकारीलाई भने क्लिनचिट

लोकपथ
252
Shares

काठमाडौं । जापानमा भएको मानव तस्करी प्रकरणमा संलग्न ११ जनाविरुद्ध मानव तस्करी तथा लिखत किर्ते कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले सोमबार ११ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध भने मुद्दा नचल्ने निर्णय भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल

सरकार वादी भई दायर भएको मानव तस्करी र लिखत किर्ते सम्बन्धी कसुरमा केपिलासगढी गाउँपालिका ४ खोटाङका ४१ वर्षीय जनक राई, कालिका गाउँपालिका ५, रसुवाका २२ वर्षीय कन्चन देवकोटा, ऐसेलुखर्क गाउँपालिका २ खोटाङकै ३६ वर्षीय दावा शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका ६, धादिङका ३४ वर्षीय महेश पाण्डे, विदुर नगरपालिका ७, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, जिरी नगरपालिका ९, दोलखाका ३० वर्षीय वीर बहादुर सुनुवार, रातमाटे ८, ओखलढुङ्गाका २९ वर्षीय ४१ वर्षीय नवीन राई, ओखलढुङ्गा रातमाटे ८ कै ३५ वर्षीय गुडी राई, मोरङको साबिक इटहरा गाविस ३ घर भएका ५६ वर्षीय योगराज गौतम, त्रियुगा नगरपालिका ४, उदयपुरका ३४ वर्षीय दिवाकर बाबु भट्टराई र त्रियुगा नगरपालिका ४ उदयपुरकै ३५ वर्षीय विष्णु प्रसाद भट्टराईविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दा दायर गरिएकामध्ये ८ जना पक्राउ परेका छन् भने योगराज गौतम, दिवाकर बाबु भट्टराई र विष्णु प्रसाद भट्टराई भने फरार रहेका छन् । उनीहरु विरुद्ध मानव तस्करी र लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

नक्कली कागजात तयार पारी जापान जान लागेका तीन युवा गत कात्तिक दोस्रो साता जापानको नारिता विमानस्थलमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनीहरूले नक्कली कागजात तयार पारेको र मन्त्रीसँग भ्रमण टोलीका सदस्य भनी जापान पुगेका कारण उनीहरूलाई अध्यागमनबाटै फिर्ता पठाइएको थियो । जापानै लुक्ने तयारीस्वरुप पुगेका उनीहरू डिपोर्ट भएर फिर्ता आए लगत्तै यो प्रकरणमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी पनि मुछिएका थिए । पछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस लगत्तै प्रहरीले उनलाई कात्तिक २५ गते पक्राउ गरेको थियो । दुई साता प्रहरी हिरासतमै राखी अनुसन्धान भएपछि सोमबार अधिकारीविरुद्ध भने मुद्दा नचलाउने निर्णय भएको हो ।

टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री अधिकारीसहितको टोली कात्तिक ११ गते जापान उडेका थिए । उनीसँगै जापान पुगेका खोटाङको केपीलासलगढी गाउँपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाउँपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका ५ का २१ वर्षीय कञ्चन देवकोटा जापानको अध्यागमनमा रोकिएका थिए । उनीहरूमाथि अनुसन्धान हुँदा नक्कली कागजात बनाएर जापान पुगेको र उनीहरूलाई मन्त्री अधिकारीले सँगै लगेको खुलेको थियो ।

स्थानीय तहका जनप्रतिनिधि, मन्त्रालयका कर्मचारी आदि बनाएर मानव तस्करी गरेको पाइएपछि उनीहरूलाई नेपाल डिपोर्ट गरी अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो । सो प्रकरणको अनुसन्धान हुँदा नुवाकोटका जुगल रिजाल, दोलखाका वीरबहादुर सुनुवार र धादिङका महेश पाण्डे पनि पक्राउ परेका थिए । सोही घटनामा ओखलढुङ्गाका गुडी राई र नवीन राईसमेत पक्राउ परेका थिए । पक्राउ परेका अन्यको हकमा मुद्दा चल्ने निर्णय भए पनि पूर्व मन्त्री अधिकारीको हकमा भने मुद्दा नचल्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?