मौसम बाधक बन्दा लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

लोकपथ
56
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि झण्डै ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार काठमाडौं ल्याइने तयारी भएपनि मौसम बाधक बन्दा ढिलाइ भइरहेको छ । बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध हुँदा लामिछानेलाई आज बिहान काठमाडौं ल्याउने तयारी प्रभावित बनेको हो ।

उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा बयान लिन काठमाडौं ल्याउन लागिएको हो । सो सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले यही मंसिर २ मा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्वर्णलक्ष्मी सहकारीको बयान सकिएपछि उनलाई पुनः कास्की नै लगिने छ ।

लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । सुप्रिम सहकारीको बचत अपचलनमा पक्राउ पुर्जी जारी भएकाले लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक र जोशी उपाध्यक्ष रहेका बेला स्वर्णलक्ष्मी सहकारीको रकम लगेर अपचलन गरेको प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको हो । काठमाडौं महानगरपालिका–१४, कालिमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । सदस्यहरूको उजुरीपछि अनुसन्धान गर्दा हिनामिनामा जीबी राईसहित स्वर्णलक्ष्मीका पदाधिकारी संलग्न देखिएका थिए । स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?