श्रम ऐनको अपव्याख्या र श्रमिक अधिकार शोषणप्रति जेटियुसीसीको ध्यानाकर्षण

लोकपथ
42
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा भइरहेको उदासिनता र आउटसोर्सिङ प्रक्रियाबाट श्रमिक खरिदबिक्रीजस्ता गतिविधिप्रति आपत्ति जनाएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै श्रमिक अधिकारको संरक्षणका लागि हालका कानुनी व्यवस्थाको सही व्याख्या र प्रभावकारी कार्यान्वयन गर्न सरकार एवम सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो । 

जेटियुसीसीले सामाजिक सुरक्षा योजनाको विस्तार: अनौपचारिक श्रमिकहरूको स्थानीय तहमा पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा समावेश गरिनुपर्ने, वैदेशिक रोजगारीमा सुधार: वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा कोषमार्फत सुविधा उपलब्ध गराउने र गन्तव्य राष्ट्रहरूसँग पारस्परिक सम्झौता गर्नुपर्ने मागहरू राखेको छ । 

यसै गरी, आउटसोर्सिङको नियमनः आउटसोर्सिङमार्फत आपूर्ति गरिने श्रमिकलाई नियमित श्रमिकसरह सुविधा दिने व्यवस्था गर्नुपर्ने र प्रक्रिया कानुनी रूपमा सीमित गर्नुपर्ने,  श्रम अडिट अनिवार्य बनाई त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सामाजिक सुरक्षा ऐनको दफा ६४ अन्तर्गत रहेको सामूहिक सौदावाजीको बन्देज हटाउनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यस्तै, जेटियुसीसीले सरकारले तुरुन्तै श्रमिक अधिकारका विषयमा निर्णय लिन केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक बोलाउनुपर्ने माग राख्दै माग पूरा नभए श्रम बजारलाई सुदृढ बनाउन आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिएको छ ।

जेटियुसीसीका अध्यक्ष योगचन्द्र कुमार कुँवर, महासचिव लाल कुमार लामा र विभिन्न ट्रेड युनियन महासंघका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?