काठमाडौं । वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका–५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविनकुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी भेरिफाइ गर्नका लागि अपलोट गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपि लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिएका थिए ।
साथै उनीहरुले अन्य व्यक्तिहरूको नाममा फरक-फरक मोबाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैर कानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू माथि आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानुन बमोजिम आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया