काठमाडौं । गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रूपैयाँ अनियमितता गरेको अभियोगमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले पूर्वनिर्देशक ठाकुरका अलावा लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइएको बताए । उनले सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा पक्राउ अनुमति लिएको बताए । प्रहरीका अनुसार गाडी भाडावापत परिषद्का पूर्वनिर्देशक ठाकुरले कर्मचारीहरूकै मिलेमतोमा २०७६ असार ३१ मा किर्ते सम्झौता पत्र र कार्यादेश तयार गरी ३० लाख रूपैयाँ महोत्तरीको एकडारा गाउँपालिकाका मुकेश यादवको नाममा निकासा गरेका थिए ।
मुकेशले आफ्नो नाममा रकम निकासा भएकोबारे अनभिज्ञता जनाएपछि घोटाला भएको आशंकामा छानबिन सुरु भएको थियो । परिषद्का पूर्वनिर्देशक ठाकुरले मुकेशको नाममा रहेको बा१६ च. ६४७ नम्बरको जीप भाडामा लिएको कागजात तयार पारेर रकम निकासा गरेका थिए । तर मुकेशले उक्त नम्बरको गाडी आफ्नो नभएको बताएपछि अनुसन्धानका लागि पक्राउ गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया