सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने 

लोकपथ
133
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । 

मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुराको जानकारी दिएका हुन् । 

उनले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान–श्रीमति र १८ वर्ष नकेटाका उनीहरूका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए । उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएको जानकारी गराउँदै आबद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए । उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए । 

उनले कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?