चीनसँग राष्ट्र र जनहितका पक्षमा काम गर्न विप्लव समूहको आग्रह

लोकपथ
49
Shares

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र  जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री  निवास बालुवाटारमा भएको  भेटवार्तामा ओलीलाई उनीहरूले सो आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

उनीहरूले ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको विषयमा चीन सरकारसँग सहमति गर्न सुझाव दिँदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउनसमेत आग्रह गरेका थिए ।

यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नुपर्ने विषय औँल्याएका थिए।

उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ नगर्न र  तीन बुँदे सहमति विपरीत पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए  ।

यसैगरी, उक्त भेटवार्तामा ओलीले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताउँदै छिटै टुङ्गोमा पुर्‍याउने बताएका थिए ।  उनले चीन भ्रमण सकेर फर्केपछि यस विषयमा थप छलफल गर्ने समेत बताएका थिए। यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबिचको  छलफल र सहकार्यलाई अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ।  

२०७७ फाल्गुन २१ गते तत्कालीन ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्णता सञ्चालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?