दूग्ध संकलनमा कोटा लगाएको छैन : डीडीसी

लोकपथ
63
Shares

काठमाडौं । दुग्ध विकास संस्थानले दूध संकलनमा कोटा लगाएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण गराएको छ । संस्थानले विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित भएको जनाएको हो ।

संस्थानले भूकम्प, नाकाबन्दी, कोभिङ-१९ को प्रकोपजस्तो प्रतिकूल अवस्थामा पनि दुग्ध उत्पादक कृषक, उपभोक्ताप्रतिको जिम्मेवारी बोध गरी अविछिन्न रूपमा दुध संकलन गर्दै आएको जनाएको छ ।

विगत ५६ वर्षदेखि ४६ वटा जिल्लाका दूध उत्पादक किसानहरूबाट दैनिक करिब ७०० दुग्ध उत्पादक सहकारी संस्थाबाट नियमित रूपमा दूध संकलन गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै संस्थानले नियमित दूध उपलब्ध गराउने सहकारी संस्था, फर्मबाट दुध संकलनमा कुनै पनि बाधा नभएको समेत जानकारी गराएको छ ।

दुई वर्षदेखि दूध संकलन तथा बिक्रीमा असमञ्जस्यता उत्पन्न हुँदा धुलो दूध र मखनको अत्यधिक मौज्दात रहन गई कृषक भुक्तानीमा ढिलाइ भएको पनि संस्थानले जनाएको छ ।

नेपाल सरकारबाट २०८१ को वैशाखमा ३० करोड तथा असोजमा ६० करोड रुपैयाँ सहुलियत ऋण लिई कृषक भुक्तानीलाई नियमितता गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै संस्थानले कार्तिक मसान्तमा करिब ५४२ मेट्रिक टन धूलो दूध र ६२० मेट्रिक टन मखन मौज्दात रहन जाँदा भण्डारणको स्थान चुनौतीको रूपमा आएको जानकारी गराएको छ ।

माथि उल्लेखित समस्या समाधानका लागि खर्च कटौती, प्रविधि विस्तार तथा दीर्घकालीन कर्मचारी दायित्व व्यवस्थापन कार्य गर्दै आइरहेको पनि संस्थानले अवगत गराएको छ ।

साथै संस्थानको कार्यक्षेत्रभित्र रहेका संस्थानलाई नियमित दूध बिक्री गर्दै आएका दूग्ध उत्पादक सहकारी संस्था तथा फार्महरूबाट दूध बिक्री नभएमा संस्थानको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?