उपनिर्वाचन : हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त

लोकपथ
35
Shares

 बागमती । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । 

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास– निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् । 

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।  

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?