काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन् ।
मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ । उनले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताइन् । महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ ।
उनले भनिन्, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिए पनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगीको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र ? भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यति बेला राष्ट्रिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यति बेला व्यवस्थापिका संसद् थियो । मलाई त एक प्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरूले यो संसद् कस्तो होला ? कसरी अगाडि बढ्ला ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उनीहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैँ लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोधे। मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरी हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया