प्रधानमन्त्री ओलीसमक्ष सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन पेस

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६औँ वार्षिक प्रतिवेदन आज बिहीबार पेस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् ।

उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश संग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो । प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए ।

उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए । प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फस्र्याैट गरिएको जानकारी गराए । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मंसिर २३ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?