खाजा खान लैजाने प्रलोभन देखाई लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । खाजा खान लैजाने प्रलोभन देखाई लुटपाट गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका– ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सानु कोईराला विक र दोलखा जिरी घर बताउने १९ वर्षीया माया भन्ने सविता कोइराला विक रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर सिद्धिकालीबाट पक्राउ गरेको हो।

उनीहरुले ५५ वर्षीया महिलालाई खाजा खान लैजाने प्रलोभन देखाई सोमबार दिउँसो होटलमा लगी अत्याधिक मादक पदार्थ सेवन गराई अर्धचेत अवस्थामा भक्तपुरस्थित कार्साङ कुसुन खोलाको छेउमा लगी सुनको गरगहना तथा मोबाइलसमेत लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।  

साथै थप अनुसन्धानको क्रममा लुटपाट गरिएको सुन खरिद गरी स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भक्तपुर मध्यपुरठिमी बाखा बजारस्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक राजिन सुनारलाईसमेत प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?