सुनसरी । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरुप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ‘भारतमा काम गर्ने मानिसको आवश्यकता छ, भनेको जस्तो तलब पाइन्छ’ भनी प्रलोभन देखाएर भारततर्फ लगिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको उनले बताउनुभयो ।
पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए । उनका अनुसार चारै जना बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया