जनमत पार्टीलाई संसद् सचिवालयको जवाफ– ‘सभामुखले कानुन अनुसार निर्णय गर्नुभएको छ’

लोकपथ
203
Shares
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् सचिवालयले जनमत पार्टीको कारबाहीमा परेकी समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले कानुन अनुसार निर्णय लिएको जनाएको छ ।

पार्टीको हित विपरितको काम गरेको भन्दै जनमत पार्टीले सांसद सापकोटलाई यसअघि नै साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दै संसद् सचिवालयलाई समेत उनलाई हटाउन पत्र लेखेको थियो ।

पटकपटक संसद् सचिवालयमा पत्र पुग्दा पनि सभामुखले उनलाई निलम्बन गरेर नहटाएको भन्दै जनमत पार्टीले आपत्ति जनाउँदै आइरहेको छ ।

सोमबार जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले सभामुखले आफ्नो जात र नातेदार परेका कारण कारबाही नगरेको भन्दै राजीनामा समेत माग गरेको थियो ।

‘…कोही प्रतिनिधि सभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा एमालेमा जाने वचनबद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याइ कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्वारा रक्षा गर्ने सभामुखले अभिलम्ब राजीनामा दिनुपर्दछ,’ यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त पत्रबारे खण्डन गर्दै संसद् सचिवालयका सहायक प्रवक्ता अन्नतप्रसाद कोइरालाले कुनै जातजाती, वर्ण, लिंग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका आधारमा कुनै पनि भेदभाव संसद् सचिवालयले नगर्ने स्पष्ट पारे । साथै सभामुख घिमिरेले कानुन अनुसार कामकारबाही अघि बढाएको समेत दाबी गरेका छन् ।

‘…सो विषयमा नेपालको संविधान र सम्बन्धित कानुनहरु –प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३) का प्रावधानहरुको व्यवस्था बमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानुन बमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौँ,’ संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?